युरोकपमा चम्किएका गुमनाम फुटबलर



लन्डन, (एजेन्सी) । 

युरोकप फुटबलको १६औं संस्करण गत साता सकियो । लन्डनस्थित वेम्बली रंगशालामा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले हराउँदै इटाली ५३ वर्षपछि दोस्रोपटक च्याम्पियन बन्यो ।

कोभिड महामारीबीच युरोपका विभिन्न ११ सहरमा भएको प्रतियोगितामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बेल्जियमका रोमेलु लुकाकुदेखि इंग्ल्यान्ड रहिम स्टर्लिङजस्ता चर्चित खेलाडीहरूले आफ्नो छवि अनुसारकै प्रदर्शन गरे । यसैबीच युरोकपमा उत्कृष्ट प्रदर्शन गर्दै केही गुमनामजस्तै रहेका खेलाडीहरूले पनि आफूलाई स्थापित गराए । त्यसमा स्पेनका मिडफिल्डर पेड्रीदेखि इटालियन विंगर फेडेरिको किएजासम्म छन् । युरोकपमा चम्किएका केही स्टार खेलाडीबारे यहाँ चर्चा गरिएको छ ।

पेड्री (मिडफिल्डर, स्पेन)

कोभिडको महामारी नभएको भए १८ वर्षीय स्पेनिस मिडफिल्डर पेड्री सायदै राष्ट्रिय टिममा अटाउँथे । उनले स्पेनिस टिममा सायदै मौका पाउँथे । कोभिड महामारीले गर्दा एक वर्ष सरेको युरोकपमा पेड्रीले स्पेनिस टिमबाट खेल्न मौका पाए । जहाँ उनले आफूलाई अब्बल मिडफिल्डरका रूपमा उभ्याए ।गत मार्चमा मात्र स्पेनिस टिममा अटाएका पेड्रीले १० खेलमै आफूलाई टिमको महत्वपूर्ण खेलाडी बनाएका छन् । ला मासियाका उत्पादन पेड्रीले गत सिजन बार्सिलोनाबाट ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले यो सिजन ५२ म्याच खेल्दै चार गोल गरेका थिए । सोही प्रदर्शनका आधारमा उनलाई प्रशिक्षक लुइस एनरिकेले गत मार्चमा विश्वकप छनोटको म्याच खेल्न स्पेनिस टिममा बोलाए । त्यहाँ राम्रो प्रदर्शन गरेपछि उनले सिनियर खेलाडीलाई पछाडि पार्दै युरोकपको टिममा पनि स्थान बनाए ।युरोकपमा स्पेनको सेमिफाइनलसम्मको यात्रामा पेड्रीले मैदानमा महत्वपूर्ण भूमिका निर्वाह गरे । सोही प्रदर्शनकै आधारमा युईएफएले पेड्रीलाई युरोकपको उत्कृष्ट युवा खेलाडीसमेत छाने । उनी युरोकपका सबै खेलमा स्पेनिस टिमको शुरूवाती एघारमा पर्न सफल भएका थिए । गोल र असिस्ट नगरे पनि स्पेनिस टिमको मध्यपंक्तिलाई उनले सम्झनलायक हुने गरी सम्हालेका थिए ।

फेडेरिको किएजा (विंगर, इटाली)

इटालीले ५३ वर्षपछि युरोकप उपाधि जित्दा फेडेरिको किएजाजस्ता युवा स्टार खेलाडी टिमका महत्वपूर्ण सदस्यका रूपमा उदाए । युरोकपमा उनको प्रदर्शन तारिफयोग्य बन्यो । युरोकप अघि गुमनाम उनी एक महिना अवधिमा स्टार खेलाडीका रूपमा चम्किए ।
सिरी ए क्लब युभेन्ट्सका २३ वर्षीय विंगर किएजाले युरोकपको समूह चरणमा मौका पाए पनि राम्रो प्रदर्शन गर्न सकेका थिएन । उनी समूह चरणका शुरूवाती दुई खेलमा दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । अन्तिम खेलमा भने प्रशिक्षक रोबर्टे मान्सिनीले किएजालाई शुरूआतमै खेलाए । उनी खासै चल्न सकेका थिएनन् ।त्यसैले मान्सिनीले अन्तिम १६मा उनलाई बेन्चमै राखे । अस्ट्रियाविरुद्धको खेल बराबरीउन्मुख भएपछि मान्सिनीले किएजालाई ८४औं मिनेटमा मैदानमा उतारेका थिए । त्यसपछि, भने किएजाले आफ्नो कौशल देखाए । उनले उक्त खेलमा थपिएको अतिरिक्त समयको १५औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । सो खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि किएजाले क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा शुरूवाती एघारमा नै स्थान बनाए । उनले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आफूतर्फ तान्न सफल रहे । तीव्र गतिमा बल विपक्षीको गोलपोस्टमा लैजाने र जस्तोसुकै कठिन कोणबाट पनि बल प्रहार गर्ने उनको खुबीले युरोकपमा सबैको ध्यान तान्न सफल भयो ।

प्याट्रिक सिक (स्ट्राइकर, चेक रिपब्लिक)

चेक रिपब्लिकका प्याट्रिक सिक युरोकपमा उदाएका अर्का स्टार हुन् । युरोकपअघि कसैले नसुनेको यो नाम युरोकप सकिँदा चर्चित बन्यो । अनि सिक पनि स्टार बने । चेक रिपब्लिकलाई अविश्वसनीयरूपमा क्वार्टरफाइनलसम्म पु¥याउन सिकको भूमिका महत्वपूर्ण रह्यो ।
उनले प्रतियोगितामा पाँच खेलमा पाँच नै गोल गरे । उनी सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डोसँगै शीर्ष स्थानमा रहे । युरोकपको पहिलो खेलमै स्कटल्यान्डविरुद्ध दुई गोल गर्दै सिकले सबैको ध्यान आफूतिर तान्न सफल भए । उनले समूह चरणमा क्रोएसियाविरुद्ध पनि गोल गरे । अन्तिम १६मा नेदरल्यान्ड्स र क्वार्टरफाइलनमा युक्रेनविरुद्ध पनि उनले गोल गरे ।
समूह चरणको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध मैदानको मध्यभागबाट उनले गरेको गोल युरोकपकै उत्कृष्ट गोल चुनिएको छ । युरोकपमा उत्कृष्ट प्रदर्शन गरेपछि यी २५ वर्षीय स्ट्राइकरलाई भित्र्याउन ठूला क्लबले चासो देखाएका छन् ।

पिएर एमिल होयबिएर (मिडफिल्डर, डेनमार्क)

डेनमार्कका यी मिडफिल्डर युरोकपमा चर्चित बने । डेनमार्कको अविश्वसनीय सेमिफाइनल यात्रामा यिनको भूमिका निकै महत्वपूर्ण थियो । मैदानमा डिफेन्स र स्ट्राइकरलाई सहयोग गर्ने दुवै काममा उनी निपुण देखिएका थिए ।डेनमार्कले युरोकपको सेमिफाइनलसम्म यात्रा गर्दा यिनले पुरै समय मैदानमा बिताए । पहिलो खेलमा फिनल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुके पनि उनले आफ्नो प्रदर्शनमा कमी आउन दिएनन् । यसै कारण उनी युरोकपको टिम अफ द टुर्नामेन्टमा पनि पर्न सफल भए । उनले प्रतियोगितामा पाँच सय ७० मिनेट मैदानमा बिताउदा महत्वपूर्ण तीन असिस्ट गरेका थिए । उनले तीन सय ७० सफल पास खेलेका थिए भने २ ट्याकल र २६ बल रिकभर गरेका थिए ।

लियोनार्दो स्पिनाजोला (डिफेन्डर, इटाली)

चोटका कारण युरोकपबीचमै छाड्नु परे पनि डिफेन्डर स्पिनाजोलाले आफूलाई स्थापित गराए । उनले प्रतियोगितामा चार म्याच खेल्दा र दुई गोलमा असिस्ट गरे । उनले समूहका दुई, अन्तिम १६ र क्वार्टरफाइलनका म्याच खेले । क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध दोस्रो हाफमा घाइते भएपछि उनले प्रतियोगिताका बाँकी खेल गुमाए । स्पिनाजोलाको तीव्र गति र स्ट्राइरलाई बल उपलब्ध गराउने खुबी सम्झनलायक थियो ।
सेमिफाइनल र फाइनलमा इटालीको टिममा स्पिनाजोलाको अभाव प्रस्ट देखिएको थियो । उनले तीन सय ७९ मिनेट मैदानमा बिताउँदा २७ बल रिकभर गरेका थिए भने तीन क्लियरेन्स र तीन प्रहार छेकेका थिए ।

जियानलुइजी डोनारुम्मा (गोलरक्षक, इटाली)

इटालीका २२ वर्षीय गोलरक्षक जियानलुइजी डोनारुम्मा यस वर्षको युरोमा निकै चर्चित भए । उनले आफ्नो टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिए । यस पटकको युरोमा ‘प्लेअर अफ दि टुर्नामेन्ट’ सम्मान पाएका उनले विश्वको ध्यानाकर्षण गर्न सफल भए ।
उत्कृष्ट गोलरक्षक उनी इटालीका लागि फाइनलमा इङ्ल्यान्डविरुद्धको पेनाल्टीमा ३–२ को जित दिलाउन सफल भए । इटालीले युरोमा सात म्याच खेल्यो । सात खेलमा उनले तीन क्लिन सिटसहित चार गोल व्यहोरेका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण इटालीले उपाधि जित्न सफल भयो । इटालीले उपाधि जित्दा, डोनारुम्माले भने समर्थकको मन जिते । ६ फिट पाँच इन्च रहेका यिनको उचाइले पनि गोल रक्षा गर्न निकै मद्दत ग-यो ।सन् २०१४ बाट उनले इटालीको यु–१५ राष्ट्रिय टोलीबाट खेल्न थालेका थिए । छोटो समयमा नै राम्रो प्रदर्शन गरेका डोनारुम्माले यस पटकको युरोबाट विश्व फुटबल समर्थकको ध्यान आफूतिर तान्न सफल भएका छन् ।

यान सोमर (गोलरक्षक, स्विट्जरल्यान्ड)

३२ वर्षका यान सोमरले युरो कपमा निकै चर्चा कमाए । उनले स्पेनविरुद्धको खेलमा अविस्मरणीय खेल प्रदर्शन गरेका थिए । १९९६ बाट उनले स्विट्जरल्यान्डको हर्लिबर्ग क्लबबाट आफनो खेल जीवनको शुरूवात गरेका थिए ।उनले २००३ बासेल क्लबबाट व्यावसायिक फुटबल खेल्न थालेका थिए । विभिन्न उमेर समूहका खेलहरू खेल्दै उनले स्विट्जरल्यान्डको सिनियर टोलीबाट खेल्न थालेका हुन् । उनी यु–२१ टोलीबाट खेल्न थालेदेखि नै पहिलो रोजाइको गोलरक्षक रहँदै आएका छन् ।उनले यसपटक स्पेनविरुद्धको खेलमा गरेको प्रदर्शनले समर्थकको मन जितेको थियो । युरो कपको यो संस्करणमा स्विट्जरल्यान्डले पाँच खेल खेल्यो । ती खेलहरूमा नौ गोल बेहोरे पनि उनले गरेको स्पेनविरुद्धको खेलमा र त्यसपछिको पेनाल्टी बचाउका कारण नै उनी चर्चामा आए ।

प्रतिक्रिया दिनुहोस्