विश्वकप आयोजना गर्न इटाली र साउदीको दाबेदारी



लन्डन, (एजेन्सी) । 

सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि साउदी अरेबियाले इटालीसँग मिलेर संयुक्तरूपमा दाबेदारी दिने भएको छ ।पछिल्लोपटक फुटबलमा लगानी गर्दै आएको गल्फ राष्ट्र साउदीले इटालीभन्दा दुई हजार माइल टाढा रहेको देशसँग मिलेर प्रतियोगिताका लागि दाबेदारी दिने बताइएको हो । फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता फिफा विश्वकपको २०३० मा हुने संस्करण आयोजना गर्नका लागि इंग्ल्यान्डले पनि दाबेदारी दिने यसअघि नै सार्वजनिक भइसकेको छ ।

सन् २०३० मा फिफा विश्वकपमा सहभागी देशको संख्या बढाएर ४८ पु-याइँदै छ । जसमा ८० खेल हुनेछन् । फिफाका लागि पनि विश्वकप एकभन्दा बढी देशमा हुँदा अझ सजिलो हुने बताइएको छ । साउदीले अमेरिकामा रहेको बोस्टन कन्सल्टेन्सीसँग मिलेर विश्वकप आयोजनाका लागि प्रस्ताव गर्न लागेको छ । जसमा साउदीले इटालीलाई साझेदारका रूपमा राख्ने बताइएको छ ।विश्वकप आयोजनामा साउदीका राजकुमार बिन सलमानको ठूलो चाहना रहेको बताइएको छ । साउदीले पछिल्लोपटक विभिन्न खेलकुद प्रतियोगिता आयोजनाका लागि १.५ बिलियन डलर खर्च गरेको बताईएको छ । जसमा बक्सिङ, युरोपियन टुर गल्फ, डाकार -याली, फर्मुला वानजस्ता खेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्