तालिवानसँग लडेकी मासोमा ओलम्पिकमा



लन्डन, (एजेन्सी)

स्कार्फ लगाएर साइकल चलाउने अफगानिस्तानी मासोमा अली जादालाई दोस्रो मलाला भनेर सम्बोधन गर्न सकिन्छ । धेरै संघर्षपूर्ण जीवनसँग लडेकी मासोमा अहिले टोक्यो ओलम्पिकमा पुगेकी छन् । उनको परिवार इरानबाट अफगानिस्तानमा आउँदा उनी सानै थिइन् । अफगानिस्तानमा पनि उनीहरूको लागि जीवन सहज भएन । त्यहाँ तालिवानसँग लडेर संघर्ष गर्नुप-यो ।

मासोमामाथि हमला भएको थियो । उनलाई बीहे गर्न दबाव दिइएको थियो । अन्ततः मासोमालाई जबर्जस्ती देशबाट निकाला गरियो र उनी परिवारसँगै फ्रान्समा शरण लिन पुगिन् । बच्चादेखि नै साइकल चलाउन सोख भएको हुँदा तालिवानको कुरा उनले सुनेनन् । उनले निकै लडिन् तर, यसको फल उनी देश निकालामा परिन् ।२४ वर्षीय मासोमा फ्रान्समा शरणार्थीको रूपमा बसिरहेकी छन् । उनले छात्रवृति पाएपछि मेहनत गरेकी मासोमा टोक्यो ओलम्पिकको लागि छनोट भएकी छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ५६ जना शरणार्थीलाई खेलाडीको छात्रवृति दिएकोमा त्यसमा उनी पनि परेकी हुन् । उनीसहित २९ जना शरणार्थीहरूलाई टोक्यो ओलम्पिकमा छनोट गरिएको हो ।मासोमाले टोक्यो ओलम्पिकअन्तर्गत २२.१ किलोमिटर साइक्लिङ दौडमा भाग लिनेछिन् । उनले २८ जुलाईमा २५ अन्य खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछिन् । मासोमाले स्विट्जरल्यान्डमा तयारी गरेकी हुन् । उनको तयारी एक महिनादेखि यूसीआई विश्व साइक्लिङ सेन्टर ऐगलेमा चलिरहेको छ । उनी १४ जुलाईमा टोक्यो पुगेकी छन् । उनलाई जिन जेकस हेनरीले कोच गरेका छन् । कोचले अफगानिस्तानबाट आएका सबै महिला साइक्लिस्टमा मासोमा उत्कृष्ट रहेकी बताएका छन् ।

अफगानिस्तानमा गाली

मासोमाले बताएअनुसार अफगानिस्तानमा साइकल चलाएकोमा गाली खानुपरेको थियो । हजारा समुदायकी उनी इरानमा बस्थिन् । उनले त्यहाँ बच्चादेखि नै साइकिल चलाउने गर्थिन् । यसपछि अफगानिस्तानमा पूरै परिवार आएपछि उनले त्यहाँ पनि साइकल चलाउन थालिन् । काबुलमा उनी १६ वर्षको उमेरमा राष्ट्रिय टिममा छनोट भइन् । यसपछि नै उनी र उनको परिवारलाई समस्या आएको थियो ।तालिवानहरूले मासोमालाई हमला गरेको थियो । उनीमाथि ढुंगाले हिर्काइएको थियो । छिमेकी र नातेदारहरूले उनलाई जे पायो त्यो भन्ने र गालीसमेत दिन थालेका थिए । उनलाई बिहे गर्न कर लगाइएको थियो । मासोमाले उनीहरूको कुरालाई वास्ता नगरेको बताइन् ।मासोमाले बताइन्—मलाई थाहा छ कि यो निकै गाह्रो थियो, तर मैले यस्तो भने सोचेकी थिइन कि मान्छेहरूले मलाई मार्न चाहन्थे । पहिलो वर्ष जब मैले साइक्लिङ शुरू गरे, तब कसैले मलाई हिर्काए । त्यो गाडीबाट ठक्कर लगाइएको थियो । उसले मलाई हातमा पछाडिबाट हिर्काएको थियो । त्यहाँ जो पनि महिलाले साइकिल चलाउँदा उसको बेइज्जत गरिन्थ्यो ।
देश छाड्न गाह्रो

मासोमाले बताइन् कि उनकी काकाको परिवारले समेत साइकिल चलाउन रोक्न धेरै प्रयास गरेको थियो । आफ्नै नातेदारसमेत शत्रु भएको हुँदा उनलाई ठेस लागेको उनले बताइन् । यसपछि उनलाई २०१७ मा देश छाड्न दबाब दिन थालेको थियो । उनी र उनको परिवारको केही नलागेपछि बाध्य भएर देश छाड्नुपरेको मासोमाले बताइन् । उनले भनिन्—देश छाडेर शरणार्थी बन्नु त्यो कति कठिन हुन्छ शरणार्थीहरूलाई मात्रै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्