ओलम्पिकमा ५ खेलाडीसहित २६ जना जाने



काठमाडौं, (नेस) । 

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जना जाने भएका छन् ।नेपालले भाग लिने ४ खेलमा ४ प्रशिक्षक र ५ खेलाडीसहित अन्य पदाधिकारी जापान जान लागेका हुन् । टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएको टोकियो ओलम्पिक एक वर्षको अन्तरालमा हुन लागेको हो । ओलम्पिकक लागि नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाल ओलम्पिक कमिटीले तयारी पूराबारे जानकारी दिएको हो ।

यसपटकको ओलम्पिक नेपालको १४ औं पटकको सहभागिता हुनेछ । यसपटक सहभागी हुने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जान्डर गाडेगार्ड शाह, सुटिङका कल्पना परियार, जुडोका सोनिया भट्ट तथा एथ्लेटिक्सका सरस्वती चौधरी रहेका छन् ।गौरिकाले महिला सय मिटर फ्रि स्टाइल र एलेक्जान्डरले मेन्स सय मिटर फ्रि स्टाइलमा खेल्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला सय मिटर दौडमा सहभागिता जनाउने छन् ।प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमान्त्रित अर्थात् ‘वाइल्ड कार्ड’ को आधारमा सहभागी हुनेछन् । नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकु्द परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल छन् । उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंहले नेपाली झण्डा बोकेर नेपालको प्रतिनिधित्व गर्नेछिन् ।टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट शुरू भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो ।

अहिलेसम्मको नेपालको ओलम्पिक सहभागिता इतिहासमा यो नै सबैभन्दा लामो, व्यवस्थित र बलियो तयारी रहेको नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । तयारी कोरोना भाइरस संक्रमणको महामारी र लक डाउनको विषम परिस्थितिमा पनि सुचारु रहेको थियो । ओलम्पिक टिमको तयारी नेपाल ओलम्पिक कमिटी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित खेल संघबीचमा समन्वय भइरहेको छ ।

ओलम्पिक छात्रवृत्तिबाट दुई करोड रुपियाँ बराबर बजेट खर्च भएको एनओसीले जनाएको छ । पछिल्लो समय भने ओलम्पिकमा सहभागी हुने खेलाडीहरूको बन्द प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट गरिएको छ । प्रतियोगिता आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’ मा राखेको छ ।स्वास्थ्य मापदण्ड अनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन् । त्यसअनुसार टोकियो प्रवेश गर्न अगाडि नेपाली प्रतिनिधिले सात दिन लगातार ‘पीसीआर’ परीक्षण गर्नुपर्नेछ भने तीन दिन ‘क्वारेन्टिन’ मा बस्नु पर्नेछ ।

प्रतियोगितामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूको खेल पोशाक केल्मी नेपालले प्रायोजन गरेको छ । यसका लागि नेपाल ओलम्पिक कमिटीले कामरू ट्रेडिङबीच प्रायोजनको अनुबन्ध भइसकेको छ । अलिबाबाअन्तर्गतको दराजले प्रतियोगिताको प्रचार प्रसार तथा प्रवद्र्धनका लागि प्रायोजन गरेको छ । यसका लागि पनि नेपाल ओलम्पिक कमिटी र दराजबीच अनुबन्धमा हस्ताक्षर भइसकेको छ । यस अनुसार टोकियो ओलम्पिक तथा नेपालको सहभागितालाई लिएर विद्युतीय माध्यमबाट प्रचार प्रसार गरिनेछ । प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा सहभागी हुनेहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय पोशाकको प्रबन्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्