‘हेल्प फर नेपाल’ले गर्‍यो आविष्कार केन्द्रलाई सहयोग



न्यूज अफ नेपाल, काठमाडौं ।

बेलायतको अक्सफोर्डमा दर्ता भएको परोपकारी संस्था हेल्प फर नेपालले कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त बनाइ रहेको बेलामा पनि मातृभूमि प्रतिको मायाले यसका सहयोगी र परोपकारी कामलाई निरन्तरता दिने क्रममा राष्ट्रिय आविष्कार केन्द्रलाइ ६ लाख र दाङको घोराही र पर्साको जगरनाथपुरमा दलित समुदायको उत्थानका लागि १ लाख ३० हजार नगद सहयोग प्रदान गरेको छ ।

नेपालमा दिन प्रतिदिन बढदै गईरहेको कोरोनाको प्रकोपले जनजीवन अस्तव्यस्त हुनुका साथै आवश्यकीय औषधि उपचार र उपकरणको अभावका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएकाले सहयोग गरिएको हेल्प फर नेपालले जनाएको छ । उक्त सहयोगले राष्ट्रिय आविष्कार केन्द्रले पीपीई उत्पादन गरि विभिन्न ठाउंमा वितरण गर्न, अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउनुका साथै अस्पतालहरुमा बिग्रिएर रहेका अक्सिजन प्लान्ट र भेन्टिलेटर मर्मत गरी तत्काल राहत पुर्याउने काममा सहयोग पुग्ने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनु भयो ।

पुनका अनुसार अहिलेको महामारीमा राष्ट्रिय आविष्कार केन्द्रले ६० जिल्लामा सहयोग प्रदान गर्दै आएको छ । हेल्प फर नेपालले दाङको घोराही र पूर्वको पर्साको जगरनाथपुरका दलित समुदायको उत्थानको लागि १ लाख ३० हजार बराबरको नगद पनि प्रदान गरिसकेको छ। हेल्प फर नेपालका सम्पूर्ण सदस्यहरूको तर्फबाट अध्यक्ष एवं पूर्व ब्रिटिश सैनिक कप्तान तुलसी पौडेलले यस परोपकारी कार्यमा शुरु देखि अन्त्य सम्म देश विदेश बाट प्रत्यक्ष तथा अनलाइनमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्