निषेधाज्ञा पुनरवलोकन



निषेधाज्ञाको पुनरवलोकन आवश्यक देखिएको छ । गत वैशाख १६ गतेदेखि लागू निषेधाज्ञा पुनः एक साता थप्ने तयारी भइरहेको समाचार सार्वजनिक भएको छ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने तयारी गरिरहेको हो । तैपनि कारोना महमारी नियन्त्रण र रोकथाम गर्ने कार्य सरकारले प्रभावकारी ढंगले गर्न सकेको छैन । कोरोना जोखिमबाट बच्न निषेधाज्ञा एकमात्र उपाय भन्ने भ्रमबाट सम्बद्ध पक्ष मुक्त हुनुपर्दछ । यसले गर्दा सरकारले निषेधाज्ञाको मात्र भर नपरी कोरोना महामारीको नियन्त्रणका लागि थप कामहरु प्रभावकारी तवरले गर्नुपर्दछ । अन्यथा बाहिर गए रोग र घरमै बसे भोकले मर्ने त्रासले जनता थप आतङ्कित हुने अवस्था आउन सक्दछ ।

काठमाडौं उपत्यकालगायत कोरोनाबाट प्रत्यक्ष प्रभावित ठाउँमा निषेधाज्ञा लागू गरेको तीन साता नाघिसकेको छ । अहिले त लगभग देशभर निषेधाज्ञा छ । तैपनि संक्रमितहरुको संख्याको ग्राफ खासै घटेको छैन । दैनिक औसत आठ हजार संक्रमित थपिइरहेका छन् । अर्कोतर्फ संक्रमितहरुले समयमै राम्रो उपचार पाउन सकिरहेका छैनन् । अस्पतालमा बेड, अक्सिजनको अभाव, पाए पनि महंँगो शुल्कले गर्दा जनता थप मारमा परेका छन् । त्यसैले निषेधाज्ञाको भरमा मात्र कोरोना रोकथाम नियन्त्रण गर्ने यदि सरकारी मानसिकता हो भने यो भ्रमबाट मुक्त हुन जरुरी रहेको छ । अहिले मानिस ज्यान बचाउन सबै कुरा सहेर बसिरहेका छन् । तर, यो अवस्था कहिलेसम्म कायम गरिरहने ? कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नहुँदा संक्रमण नियन्त्रणबाहिर जाने जोखिम जताततै छ । संक्रमितको परिवारले अग्रसरता देखाउँदा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका सदस्यकै स्वाब संकलन नगरिदिएका थुप्रै उदाहरण छन् । आवश्यक सामग्री अभाव भएको भन्दै कति स्थानीय तहमा बीच–बीचमा पीसीआर परीक्षणका लागि स्वाब संकलन बन्द गर्ने गरिएको छ ।

आफैं सक्रिय भएर परीक्षण गराउन चाहनेको त यस्तो अवस्था छ भने सरकार नै अग्रसर भएर परीक्षण गर्नु त परको कुरा भइहाल्यो । महामारी रोकथाम तथा नियन्त्रणको उपाय भनेकै संक्रमणको सम्भावना भएकालाई पत्ता लगाउनु, परीक्षण गर्नु र संक्रमितलाई अवस्थाअनुसार उपचार गर्नु हो । तर, अघिल्ला दुई कार्य प्रभावकारी हुन नसक्दा संक्रमितको संख्या घट्न सकेको छैन, त्यसले अस्पतालमा चाप बढाएको छ । तत्काल खोप कार्यक्रम अघि बढ्ने सम्भावना पनि नरहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले गत महिना नै प्रदेश र स्थानीय सरकारहरूलाई कन्ट्याक्ट ट्रेसिङ फेरि शुरु गर्न र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न निर्देशन दिएको भए पनि यसको खासै पालना गरिएको पाइँदैन ।भारतबाट भित्रिनेका लागि होल्डिङ सेन्टर बनाउने कार्यको गति पनि अत्यन्त सुस्त रहेको छ, संक्रमणको एउटा स्रोत उताबाट आउने नै भएकाले यसतर्फ पनि उचित ध्यान दिइनुपर्छ । सबै संक्रमणको स्रोतलाई नरोकेसम्म महामारी नियन्त्रणमा आउँदैन र त्यसका निम्ति गर्नुपर्ने उपयुक्त विधि भनेको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउनु नै हो । यी सब गर्ने सर्तमा मात्र जनता अनेक कठिनाइ सहेर घरभित्र बसिरहेका हुन् । यस तथ्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्