वैकल्पिक कक्षा बन्द नगर्न शिक्षामन्त्रीको आग्रह

मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने



नेपाल समाचारपत्र, काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठल वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ कोर्स पूरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गनुभएको हो । मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्यरूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी गराउनुभएको छ । उहाँले स्वास्थ्य प्राटोकललाई कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भन्नुभयो– ‘सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।’
उहाँले परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिनुभयो । जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिनुभयो ।मन्त्री श्रेष्ठले कोभिडका कारण १४ जिल्ला र केही शहरका शिक्षणसंस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मसान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने जानकारी दिनुभयो ।

यसैबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।कोरोना भाइरसको संक्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतबारसम्म पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको र १० जनाको निधन भइसकेको विवरण सार्वजनिक भइसकेको छ । राजधानीकै केही सरकारी र निजी विद्यालयका दर्जनौं विद्यार्थी र केही शिक्षकलाई कोरोना संक्रमण भइसकेको अवस्थामा विद्यालय बन्द गर्न दबाब परेपछि मन्त्रीपरिषद्को बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि राजधानीसँगै जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिकाले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपालगन्ज, कैलालीलगायत केही जिल्लाका स्थानीय तह आफैंले निजी र सामुदायिक विद्यालय बन्द गरिसकेका थिए ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगन्ज, धनगढी, भीमदत्त नगरमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

विद्यालय बन्द नगरेको भन्दै विभिन्न बालसरोकारवाला निकाय, चिकित्सकलगायतले विद्यालय बन्द गर्न आग्रह गरिसकेको थियो । आइतबार झन्डै १ सय २१ विद्यार्थी संक्रमित भएका थिए । मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको थियो ।मन्त्री श्रेष्ठले शिक्षण संस्था बढी संवेदनशील क्षेत्र भएको र विद्यालय उमेरका बालबालिकामा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि वैशाख मसान्तसम्म स्वास्थ्य मन्त्रालयले तोकेका जिल्ला र शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्