बैतडीको जङ्गलमा विभत्स अवस्थामा एक किशोरीको शव भेटियो



बैतडी ।

बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । उनले भने, मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् । ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उनले भने, घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ ।

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । उनले भने, बीच जङ्गलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला, घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

घटनालाई गम्भीररूपमा लिएको र दोषीलाई कानूनी कठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनले भने, किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन ।घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्