ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण

७५ प्रतिशत काम सकियो, वैशाख १२ गते उद्घाटन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

ऐतिहासिक काष्ठमण्डप वैशाख १२ गते उद्घाटन हुने भएको छ । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिनुभयो ।

शुक्रबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन वसन्तपुर दरबारक्षेत्र पुग्नुभएका मन्त्री ज्ञवालीले वैशाख १२ गते उद्घाटन गर्ने जानकारी गराउनुभएको हो ।

काष्ठमण्डप पुनर्निर्माणको अवस्थाबारे जानकारी लिँदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गर्नुभएको थियो । काष्ठमण्डपको पुनर्निर्माणको अवस्था देख्दा स्थानीय जनतासहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको उहाँको भनाइ थियो । मौलिक परम्परालाई जोगाएर तीव्रताका साथ काम भएकोमा उहाँले प्रशंसा गर्नुभयो ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन वैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।

स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुनर्निर्माण समितिमार्फत पुनर्निर्माण गर्न शुरुदेखि नै पहल थाल्नुभएका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘हनुमानढोका दरबारक्षेत्रलगायत देशका महŒवपूर्ण सम्पदा पुनर्निर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यक छ ।’

तोकिएकै समयमा सम्पन्न गर्नु मुख्य दायित्व रहेको बताउँदै उहाँले भन्नुभयो– ‘हामीले मिति घोषणा गरिसकेका छौं, सोही आधारमा तयार थाल्न आग्रह गर्छु ।’

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं बागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आए पनि तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले ऐतिहासिक जिम्मेवारी पाएका छौं, त्यसलाई पूरा गर्नेछौं । यो हाम्रो मुख्य कर्तव्य हो ।’

काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गर्न करिब १३ करोड रुपियाँ लाग्नेछ । सरकारका तर्फबाट पुनर्निर्माण गर्दा करिब १९ करोड रुपियाँ अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पूर्ण आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको सो सम्पदाका लागि महानगरपालिकाले करिब साढे १० करोड रुपियाँ उपलब्ध गराइसकेको छ ।

पुनर्निर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी दिँदै संयोजक एवं प्रदेश सांसद शाक्यले भन्नुभयो– ‘हामीले सातौ शताब्दीकै प्रविधि प्रयोग गरेका छौं । माटो र त्यस बेला प्रयोग गरेका सामग्रीलाई पुनर्निर्माणमा प्रयोग गरेका छौं ।’

आगामी वैशाखसम्म पुनर्निर्माण सम्पन्न हुने काष्ठमण्डपको अहिले करिब ७५ प्रतिशत काम सकिएको छ । काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ ।

समितिले २०७५ वैशाख ३१ मा काम शुरु गरेको थियो । महानगरपालिका र समितिबीच जेठ २९ गते सम्झौता भए पनि पुनर्निर्माण शुरु भएको थियो ।

पुनर्निर्माण भइरहेको काष्ठमण्डप चार घेराको सयवटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक–एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।

काष्ठमण्डपको पुनर्निर्माण गर्न ठूलो र सानो आकारको गरी २ लाख थान माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ । ठूलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इँट्टा आवश्यक पर्नेछ ।