ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

महानगरीय ट्राफिबक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान शनिबारदेखि शुरु गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले एक कार्यक्रमवीच उक्त अभियानको शुभारम्भ गर्नुभएको हो । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र दुर्घटना न्यूनीकरण गर्नका लागि गत भदौ १६ गतेदेखि महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ ।

सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न शनिबारदेखि सांगीतिक डमी अभियान महाशाखाले आरम्भ गरेको हो ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले गीतसंगीत भनेको हरजनको हरपरिस्थितिको सहारा, अत्यन्तै प्रिय साथी भएकाले गीतसंगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकाले यो अभियान शुरू गरिएको बताउनुभयो ।

उहांँका अनुसार सडक प्रयोगकर्ता सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोकचोकमा डमी राखेर ट्राफिक सचेतनामूलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको होे ।

कार्यक्रममा ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राख्नुभएको थियो भने कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा, कामनपाका शहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियन्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो ।

महाशाखाले गीतसंगीतको माध्यमबाट आम सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम् ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरेको छ ।

सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य पाँचवटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइनेछ । दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रत्येक आधा घण्टामा कम्तीमा ५० जना सडक प्रयोगकर्ता लाभान्वित हुने र दैनिक ३ हजारभन्दा बढीले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ ।

यसरी १ महिनामा १ लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ । जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताले आ–आफ्नो घर परिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रवाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।

अभियानलाई अझ प्रभावकारी बनाउँदै भिडभाड हुने अन्य स्थानहरुमा समेत सांगीतिक डमी राख्दै लैजाने योजना रहेको छ ।

महाशाखाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान तथा काम कारबाहीहरू निरन्तर सञ्चालन गरिरहेको छ ।