छात्रा बलात्कारी शिक्षक धरौटीमा रिहा

0
Shares

डोटी, (नेस)

छात्रा बलात्कारको आरोपमा मुद्दा खेपिरहेका झिमेमालिका माविका शिक्षक सोफीनाथ भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ । जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले भट्टलाई ३ लाख रुपियाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको हो ।

उनलाई केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी आवश्यक प्रमाणसहित जिल्ला अदालत डोटीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बलात्कार गरेको प्रमाणित भएका शिक्षकलाई सजायका लागि कारागार पु¥याउनुपर्ने ठाउँमा अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडित किशोरीको घरपरिवारको गुनासो रहेको छ । यही कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा गरिएको स्वास्थ्य परीक्षणमा किशोरीको पेटमा १३ साता ४ दिनको भ्रूण रहेको पुष्टि भएपछि भट्टलाई थप कानुनी कारबाहीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । तर, किशोरीले काठमाडौंमा गएर गर्भपतन गराइसकेको बताइएको छ ।

जिल्ला अदालतले गरेको फैसला चित्तबुझ्दो नभएपछि सरकारी वकिलको कार्यालय डोटीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पूर्णबहादुर केसीले जानकारी दिनुभयो । भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्वीर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ ।

उता जिल्ला न्यायाधीश विदुर काफ्लेले किशोरी बलात्कार गरेको सम्बन्धी प्राप्त प्रमाणका आधारमा प्रतिवादी भट्ट कसुरदार रहेको विश्वास गर्ने ठाउँ भए पनि उनी शारीरिकरुपमा अशक्त हुनुका साथै अभियोग र अधिकतम सजायलाई आधार मानेर थुनामा राख्नुपर्ने आवश्यकता नदेखिएको बताउनुभयो ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार भट्टलाई तत्काल फेला परेका प्रमाणका आधारमा कम्तीमा ७ देखि १० महिनासम्म कारागारमा राखी पुर्पक्ष गर्न सकिने व्यवस्था हुँदाहुँदै धरौटीमा रिहा गर्ने आदेश दिनु भनेको चित्तबुझ्दो नभएको कानुन व्यवसायीहरु बताउँछन् ।

यो आर्थिक वर्षको कात्तिक महिनासम्ममा विवाहित महिला तथा किशोरी बलात्कारसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन् । पछिल्लो समय महिला तथा किशोरी बलात्कारका घटनामा वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताउनुभयो ।