एकतालाई प्राथमिकता: बाइडेन

0
Shares

केशरमान श्रेष्ठ, काठमाडौं

अमेरिकी राष्ट्रपति पदको चुनावमा जितको संघारमा पुगेका डेमोक्र्याटिक उम्मेदवार जोय बाइडेनले आफू राष्ट्रपति बनेपछि देशको एकतालाई प्राथमिकता दिने बताएका छन् । चुनावका कारण विभाजित बनेको अमेरिकामा जनताबीच दूरी बढेको उनले बताए ।

यसबीच अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि जिम्मेवार सुरक्षा एजेन्सी गुप्तचर सर्विसले जोय बाइडेनको सुरक्षा घेरालाई थप कडा पारेका छन् । अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनको निर्णायक अग्रतालाई हेरेर सिक्रेट सर्विसले उक्त फैसला लिएको बताइएको छ । उक्त सुरक्षा निकायले एक अतिरिक्त दललाई देलावेयरको विल्मिंगटनस्थित बाइडेनको प्रचार कार्यालयको सुरक्षामा पनि तैनाथ गरेको छ ।

राष्ट्रपति चुनाव जित्न आवश्यक २७० इलेक्टोरल कलेज मतको चामत्कारिक आँकडाको नजिक पुगेका बाइडेनले यो दौड जित्न लागेको बताए । मतगणना भइरहेका पाँच महत्वपूर्ण राज्यमध्ये ४ मा प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पभन्दा अगाडि रहेको उल्लेख गर्दै आफ्नो संक्षिप्त सम्बोधनमा विगत २४ घण्टामा के भयो हेर्न आग्रह गरे ।

एरिजोनामा ट्रम्प बाइडेनभन्दा ३८ हजार बढी मतले पछाडि परेका छन् । त्यसै गरी ट्रम्प जर्जियामा ४ हजारभन्दा बढी, नेभाडामा करिब २३ हजार, पेन्सिलभेनियामा करिब २० हजार मतले पछाडि परेका छन् । तर नर्थ क्यारोलाइनामा करिब ७७ हजार मतले उनी अगाडि छन् । अमेरिकामा राष्ट्रपति चुनावमा जित हासिल गर्न कुनै पनि उम्मेदवार ५ सय ३८ इलेक्टोरल कलेज मतमा कम्तीमा २ सय ७० हासिल गर्न जरुरी छ ।

आफ्नो पराजय स्पष्ट हुन थालेपछि ट्रम्पले ठूलो परिमाणमा फर्जी मतदान भएको आरोप लगाउँदै आइरहेका छन् । वैध मतको गणनामा आफ्नो जित भइसकेको उनले दाबी गरेका छन् ।