नेकपा विवाद: सचिवालय बैठक बोलाउन पाँच नेताको माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच नेताले सचिवालयको बैठक बोलाउन लिखितरुपमा माग गरेका छन् । शनिबार पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न बैठक बोलाउन माग गरिएको नेताहरुले बताएका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाउन गरेको आग्रह अध्यक्ष ओलीले अस्वीकार गरेपछि

सचिवालयका पाँच नेताले बैठक बोलाउन लिखितरुपमा नै माग गरेका हुन् । नौ सदस्यीय सचिवालयमा बहुमत सदस्यले बैठक बोलाउन लिखितरुपमा ओलीसँग माग गरेपछि नेकपाको विवाद थप पेचिलो बन्न पुगेको छ ।

शनिबार कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीनिवास बालुवाटारमै पुगेर लिखितरुपमा बैठकको माग गरेका हुन् ।

पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने र अहिलेसम्मको कामहरुको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन पाँच नेताले माग गरेका छन् ।

तर बैठक बोलाउन माग गरेर बालुवाटार पुगेका नेताहरुसँग ओलीले असन्तुष्टि जनाउनुभएको बताइएको छ । सचिवालयका एक सदस्यले ओलीको भनाइ उद्धृत गर्दै भने– ‘मेरा विरुद्ध गुटबन्दी गर्ने, मलाई असफल बनाउन भेला गर्दै हिँड्ने अनि बैठकचाहिँ केका लागि बोलाउने हो?’ पाँच नेताले गुटबन्दी गरेकै कारण पार्टीभित्र एकपछि अर्को गर्दै विवाद देखापर्दै गएको ओलीले आरोप लगाएको ती नेताले बताए ।

आफूलाई सधंै अप्ठ्यारोमा पार्ने काम पार्टी भित्रैबाट भइरहेको भन्दै अध्यक्ष ओलीले जनमतको अपमान नगर्नसमेत पाँच जना नेतालाई चेतावनी दिनुभएको बताइएको छ ।
लिखितरुपमा बैठक बोलाउन गरेको मागप्रति ओलीले उल्टै आरोप लगाएपछि प्रचण्डले पनि ओलीको भनाइको प्रतिवाद गर्दै आफूहरुले गुटबन्दी नगरेको जवाफ दिँदै ओलीजीबाटै गुटबन्दीको काम भइरहेको बताएको सचिवालयका एक सदस्यले बताए । ती नेताका अनुसार प्रचण्डले हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गर्नुभएको थियो ।

बैठक बोलाउन माग गर्दै बालुवाटार पुगेका पाँच नेता र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टा आरोप प्रत्यारोप भएको थियो । विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्नेमा पाँच नेताले जोड दिएका थिए ।

अन्तिममा ओलीले एक÷दुई दिनभित्र नै पार्टीको बैठक बोलाउन स्वीकृति दिने जवाफ दिएको वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘शुरुमा त ओलीजीले बैठक नै किन बोलाउने भन्ने अडान राख्नुभएको थियो, पार्टीलाई विधिमा चलाउन, पार्टीले गरेको निर्णय कार्यान्वय गराउन बैठक बोलाउनुपर्छ भनेर हामीले अडान लिएपछि बैठक बोलाउन सहमति जनाउनुभएको छ, एक÷दुई दिनमा बैठक बस्छ ।’

पाँच नेताले पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराएका छन् ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्नेलगायतका विषय लिखित पत्रमा समावेश गरिएको जानकारी दिनुभयो ।

पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाउनुभएको थियो । उक्त बैठकमा ओली पक्षका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापाले भने सहभागिता जनाएका थिएनन् ।

पछिल्लोपटक विवाद देखापरेपछि गठन गरिएको कार्यदलको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको भन्दै नेकपाभित्र थप विवाद चुलिएको छ ।