अमेरिकी राष्ट्रपति चुनाव : आधिकारिक इलेक्टोरल कलेज भोट बाइडेनको २५३ र ट्रम्पको २१३,जर्जियामा बाइडेनले उछिन्यो


न्युयोर्क (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी छ । मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनमध्य एकलाई आगामी ४ बर्षका लागि ह्वाइट हाउस पुर्याउने यस दौडको अन्तिम नतिजा ४ वटा राज्यको मतगणनामा अडेको छ ।
यसबीच ट्रम्पले लगातार अग्रता हासिल गर्दै आइरहेको जर्जियामा स्थिति उल्टिएको छ । यस राज्यको हुलाक मतपत्र गणनापछि बाइडेनले झिनो मतले अग्रता हासिल गरेको छ । मत गणना जारी छ ।

अमेरिकी राष्ट्रपति चुनावको मतगणना नतिजालाई लिएर अमेरिकी सन्चार माध्यमहरुमा फरक फरक आंकडा आइरहेको छ । फोक्स र एपी जस्ता सन्चार माध्यमले एरिजोनाको नतिजा बाइडेनको पक्षमा गइसकेको र त्यहाँको ११ इलेक्टोरल मत सहित उनको इलेक्टोरल मत २ सय ६४ पुगेको प्रसारण गरिरहेको छ । यस आंकडा अनुसार बाइडेनले राष्ट्रपति चुनाव जित्न आवश्यक २ सय ७० को चमत्कारिक इलेक्टोरल कलेज मत संख्या पुर्याउन मात्र ६ मत जिते पुग्छ ।

यो मत उनले नेभाडा राज्यमा जिते लगत्तै प्राप्त गर्न सक्ने अवस्था छ । किनभने नेभाडाको इलेक्टोरल मत ६ नै रहेको छ र उक्त राज्यमा बाइडेनले नै अग्रता हासिल गरिरहेको छ । त्यसैगरी राष्ट्रपति ट्रम्पको इलेक्टोरल कलेज मत २ सय १३ पुगेको छ ।
एरिजोनामा बाइडेन जितिसकेको केही सन्चार माध्यमले बताएपछि त्यसको औपचारिक घोषणा भएको छैन ।

सीएनन, बीबीसी, एवाईटी जस्ता जस्ता सन्चार माध्यमले बाइडेनको इलेक्टोरल मत २ सय ५३ पुगेको देखाएको छ । ती सन्चार माध्यमले एरिजोनाको इलेक्टोरल मत समावेश गरेका छैनन् । एरिजोनामा अझै हजारौं मत गणना हुन बाँकी रहेको बताइएको छ । यदि एरिजोनाको सबै मत गणना भएर ट्रम्पले अग्रता हासिल गर्छ भने नतिजा अप्रत्यासित हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताइएको छ ।

यसबीच पेन्सिलभेनियाको मत गणनामा पनि ट्रम्प र बाइडेन बिचको मत अन्तर साँघुरिँदै गइरहेको छ । बाइडेनको जन्म यसै राज्यमा भएकोले पनि उनका लागि यहाँको चुनावले विशेष महत्व राख्छ । यद्यपी यहाँको नतिजा बाइडेनको पक्षमा नगएपनि एरिजोना र नेभाडाले नै बाइडेनलाई ह्वाइट हाउस पुर्याउन सक्ने पक्का छ ।

१५ इलेक्टोरल मत रहेको नर्थ क्यारोलिनामा ट्रम्प अगाडी छ र यहाँको मत अन्तर पनि धेरै छ । त्यसैले यो राज्य ट्रम्पकै पक्षमा जाने सम्भावना राख्छ । अन्तिम समयमा जर्जियामा बाइडेनको अग्रताले डेमोक्र्याट राष्ट्रपति बन्ने सम्भावनालाई अझ बलियो पारेको छ । जर्जियामा ९९ प्रतिशत मत गणना भइसकेको छ । यदि बाइडेनले जित्ने हो भने ट्रम्पले कुनै पनि हालतमा आवश्यक २७० इलेक्टोरल कलेज भोट हासिल गर्न सक्ने छैन ।

दोस्रो कार्यकालका लागि जित हासिल गर्नुलाई आफनो ब्यक्तिगत प्रतिष्ठाको विषय बनाइरहेका ट्र्रम्प मत गणनाको पछिल्लो ट्रेन्डले झन हतास भएको देखिएको छ । उनले डमोक्र्याटिक पार्टी मात्रै होइन, राज्यको चुनाव र मतगणना प्रक्रियालाई लिएर आक्रोस ब्यक्त गरिरहेका छन् । लगातार उत्तेजना फैलाउने खालको टिप्पणी गरिरहेकोले केही अमेरिकी सन्चार माध्यमले नेताहरुको प्रतिक्रियाको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेका छन् ।

ट्र्रम्पले बारम्बार चुनाव आफुले जितिसकेको भएपनि मतगणना भइरहेकको भनिरहेका छन् । ट्रम्प र उनका समर्थकले बाइडेनले जितेका सबै राज्यमा पुन मत गणनाका लागि अदालत जाने धम्की दिइरहेका छन् ।