घाम लाग्दा घर पानी पर्दा डाँडामा

पहिरोले भुर्केलाका ३ सय ९० जनाको पालमुनि बास



विमल विष्ट, डोटी

डोटी सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँ माथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका ३ सय ९० जना अहिले गाउँ छोडेर गाउँ माथिको अग्लो डाँडामा पालमुनि बस्नुपरेको छ । गएको शनिबार आएको ठूलो पहिरोका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् ।

पहिरोका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन् । पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, लामखुट्टे र जंगली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयबासी धर्मराज जोशीले बताउनुभयो ।

त्यसै गरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्ती समेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको छ । विस्थापितहरुलाई खानेकुरो त छोडौं, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहोर पानी प्रयोग गरेकाले झाडा पखाला हुने सम्भावना बढेको छ ।

विस्थापित भएका परिवारहरुसँग केटाकेटी भएका कारण बास्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयबासी बताउँछन् । विस्थापित भएको तीन दिन भइसक्दा समेत कुनै पनि निकायबाट राहत उपलब्ध नभएको पीडितले गुनासो गरेका छन् । उनीहरु भन्छन्– ‘पहिरोले हाम्रो सम्पत्ति त लग्यो, बाँच्नलाई भए पनि एकछाक खाने कुरो त देऊ ।’

बेला लगातार पानी पर्न थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नुपरेको उनीहरुको भनाइ छ । सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँबासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पहिराका कारण भुर्केलाका नागरिक विस्थापित भएका छन्, उनीहरुलाई आरभीआरएमपी संस्थाको सहयोगमा पाल, पानी राख्ने भाँडाको व्यवस्था गरेका छौँ, अब अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, चाँडै खाद्यान्नलगायत अन्य राहत वितरण गर्नेछौँ ।’

खानलाई अन्नको एकदना समेत नभएको पीडित धनबहादुर थापाले बताउनुभयो । अहिले दैनिक वर्षा भइरहेका कारण पहिराको डरले ३५ घरधुरीका गाउँले गाउँ छोडेर डाँडामा बास बसिरहेका छन् । उनीहरु घाम लागे घर फर्किने तथा पानी पर्दा डाँडातिर बसाइँ सर्ने गरेको स्थानीय हर्क थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले दिएका पाल पनि झरी र हावाहुरीले च्यात्तिएका कारण पानी पालभित्र पस्दा राति सुत्ने समयमा झनै समस्या हुने गरेको पीडितहरुको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्