दीप यात्रा र भीमसेन जात्रा नहुने



सुनील महर्जन, काठमाडौं

कोरोना संक्रमणको जोखिम समुदायमा बढ्दै गएसँगै ललितपुरमा मंगलबार हुने मतयाः पर्व (दीप यात्रा) पनि स्थगित गरिएको छ ।

कोरोना महामारीका कारण काठमाडौं उपत्यकाका विभिन्न धार्मिक, सांस्कृतिक पर्वहरु स्थगित गर्ने क्रममा गाईजात्रासँगै ललितपुरमा हुने मतयाः पर्व स्थगित गरिएको हो ।

सो पर्व हरेक वर्ष श्रावण कृष्णपक्ष द्वितीयाका दिन पाटनमा सञ्चालन हुने गर्दछ । यस वर्ष न्यंकू जात्रा मतयाः व्यवस्थापन समिति क्षेत्र नं ७ रुद्रवर्ण महाविहार ओकुबहाःले सञ्चालन गर्नुपर्ने थियो । लिच्छिविकालीन राजा बार्लाचन देवले चलाएको यस पर्व कोरोना महामारीले गर्दा धार्मिक विधिविधानअनुसार पूजाआजा मात्र हुने यात्रा स्थगित गरिएको सो महाविहारले जनाएको छ ।

त्यसै गरी श्रावण २९ गते बिहीबार हुने ऐतिहासिक भीमसेन महाराजको नगर परिक्रमा पनि नमनाउने निर्णय गरिएको मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानुरत्न श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरे पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको र नियमानुसार भौतिक दूरी कायम गर्नुपर्ने हुँदा यस वर्ष नगरकै प्रसिद्ध एवं उपत्यकाका रोमाञ्चकारी भीमसेन महाराज यात्रा सरोकारवाला सबै बसेर स्थगित गरिएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यसै गरी कीर्तिपुरमा धेंधेंपापा जात्रा नहुने पनि कीर्तिपुर नगरपालिकाले जनाएको छ । हरेक वर्ष श्रावण शुल्क पूर्णिमाका दिन कीर्तिपुरमा बहाःचा हिलेगु पर्व हुने र प्रतिपदाका दिन गाईजात्रा पर्व र धेंधेपापा नाच नचाइने गरिन्छ । कोरोना महामारीले गर्दा यस वर्ष यो पर्व तथा नाच प्रभावित भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताउनुभयो ।

वर्ष दिनमा मरेका आफ्नो परिवारका सदस्यको आत्माको शान्तिको कामना गर्दै पूर्णिमाका दिन बहाः चाःहिलेगु र गाईजात्राका दिन गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।

यसैअघि स्थगित गरिएको हरिसिद्धिमा मनाइने गाईजात्रा पर्व भने कोरोना संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाएर गर्ने निर्णय गरिएको छ । ललितपुर महानगरपालिका २८ र २९ वडाले लकडाउन अन्त्य भएसँगै हरिसिद्धि क्षेत्रमा हुने सम्पूर्ण जात्रा, पर्व सञ्चालन हुने जनाएको छ ।

२८ र २९ का वडा अध्यक्षद्वय राजेश महर्जन र गणेशकुमार महर्जनले एक विज्ञप्ति प्रकाशित गरी हरिसिद्धि देवी भवानीका पुजारीबाट हुने जल पूजा (धलं ब्वायेगु) पनि जात्रा सुचारु गरिएको जनाएको छ ।
तर यसैबीच रातो मच्छिन्द्रनाथको रथयात्राको विषयमा पनि सरोकारवाला ठोस निर्णयमा पुग्न सकेको छैन । हाल रथ पुल्चोकमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्