गत आवमा कुल सरकारी खर्च १०९४ अर्ब


नेपाल समाचारपत्र, काठमाडौं

आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारको चालू खर्च ७८६ अर्ब ५३ करोड, पुँजीगत खर्च १९१ अर्ब ७७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च ११६ अर्ब ४ करोड गरी जम्मा १०९४ अर्ब ३४ करोड खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयबाट सार्वजनिक विवरणअनुसार उक्ते अवधिमा राजस्व संकलन ८४१ अर्ब ३६ करोड भएको छ ।

त्यस्तै सरकारले कुल आन्तरिक ऋण परिचालन १९४ अर्ब ६४ करोड र साँवा भुक्तानी ३४ अर्ब ३९ करोड गरी खुद आन्तरिक ऋण १६० अर्ब २५ करोड परिचालन गरेको छ । उक्त रकम कुल गार्हस्थ्य उत्पादनको ४ दशमलव ३ प्रतिशत हुन आउने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको जेठ महिनासम्म शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।

२०७७ जेठ मसान्तमा केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा१६४ अर्ब ५० करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च रु.८२ अर्ब १७ करोड रहेको छ ।

समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति १०८ अर्ब ८४ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७५ अर्ब ९२ करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.३२ अर्ब ९२ करोड परिचालन गरेका छन्।