व्यापारघाटा १६ प्रतिशतले घट्दा सवा १० खर्बमा सीमित


नेपाल समाचारपत्र, काठमाडौं

आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा कुल वस्तु निर्यात शून्य दशमलव २ प्रतिशतले वृद्धि भई ८८ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक स्थितिअनुसार आर्थिक वर्ष २०७६÷७७ को ११ महिनामा कुल वस्तु व्यापारघाटा १६ दशमलव ४ प्रतिशतले संकुचन आई १० खर्ब १२ अर्ब ८१ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव ८ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ११ दशमलव २ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४२ दशमलव १ प्रतिशत र १८ दशमलव ३ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एमएस पाइपलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैंचा, तयारी पोशाकलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा कुल वस्तु आयात १५ दशमलव ३ प्रतिशतले घटेर ११ खर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० दशमलव ३ प्रतिशत, ९ प्रतिशत र ४ दशमलव १ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगन्ज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोडले बचत
गत आर्थिक वर्षको जेठ महिनासम्म शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।