पशुपति मन्दिर नखुल्ने

‘भट्ट हटाउने सोच छैन’


काठमाडौं, (नेस)

साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर नखुल्ने भएको छ । सरकारले जारी गरेको लकडाउन बुधबार ७ गतेसम्म कायमै रहेकोले दर्शनका लागि पशुपति मन्दिर खुला नरहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्य सचिब डा. प्रदीप ढकालले साउनको पहिलो सोमबार लकडाउन भित्र परेकाले मन्दिर नखोल्ने बताउनुभयो । ‘साउनको पहिलो सोमबार लकडाउन भित्रै पर्छ अर्काे सोमबार खुल्ने नखुल्ने विषयमा सरकारको निर्णयको प्रतीक्षामा छौँ’ –उहाँले भन्नुभयो ।

हिन्दुहरुका लागि साउन महिनाको सोमबारलाई विशेष रुपमा लिइन्छ । साउन महिनाको प्रत्येक सोमबार पशुपति लगायत देशभरको शिवालयहरुमा भिड लाग्ने गर्दछन् । व्रत बस्दै शिवको पुजा, दर्शन गरे पति–पत्निको लामो आयु बढ्ने, राम्रो पति मिल्ने जस्ता लाभ मिल्ने विश्वास पाइन्छ ।

‘भट्ट हटाउने सोच छैन’

पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पुजारी भट्टहरु हटाउने कुनै सोच नरहेको स्पष्ट पारेको छ । कोषले भट्टहरु हटाउन लागेको भनि विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भट्ट हटाउने कुनै निर्णय र सोच नभएको बताउनुभएको छ । पशुपतिमा कार्यरत भट्टहरु हटाउने चर्चा नेपाल र भारतबीच सयौं वर्षदेखि कायम सम्बन्धलाई धुमिल पार्नेहरुको उक्साहट रहेको कोषले जनाएको छ ।

सदस्य सचिव डा ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्ति सक्रिय रहेको आरोप लगाइएको छ । विज्ञप्तीमा भनिएको छ– नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र कोषले भट्टहरु हटाउने कुनै सोच बनाएको छैन ।’