उपत्यकामा कोरोना संक्रमित घटे


काठमाडौं, (नेस)

उपत्यकाका कोरोना संक्रमणको भए-नभएको जाँच गर्न संकलन गरिएको ४ हजार नमुनामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपंक्तिमा काम गर्ने ४ हजार २ सय जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

महाशाखाले काठमाडौं उपत्यकाको समुदायमा कोभिड–१९ को संक्रमण छ वा छैन भनेर भीडभाड हुने ठाउँका अग्रपंक्तिमा काम गर्ने व्यक्तिको परीक्षण गरेको थियो । ती तीन जनामध्ये दुई जना बाहिर मुलुकबाट आएका व्यक्ति रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

५ हजारमा गरिएको नमुना परीक्षणमध्ये ८ सयको नतिजा भने आउन बाँकी रहेको छ । केही दिनयता बाहिर जिल्लामा संक्रमण दर घटे पनि उपत्यकामा संक्रमित बढेपछि उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा परीक्षण गरेको सो अस्पतालले जनाएको छ ।

नेपालमा अहिलेसम्म ३ लाख ३ हजार ८ सय १० को पीसीआर परीक्षण गर्दा १७ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ११ हजार २ सय ४९ जना संक्रमणमुक्त भई घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।