नेपाल समाचारपत्र, काठमाडौं
कोरोना संक्रमणबाट थला परेको मुख्य पर्यटकीय क्षेत्र ठमेलका घरधनी र व्यवसायीबीच घरभाडाको विषयमा सहमति भएको छ ।
घरधनीका कारण व्यवसायी घर छोडेर जानुपर्ने अवस्था आएको समाचार सार्वजनिक भएपछि बिहीबार ठमेल क्षेत्रका घरधनी र व्यवसायीले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेर सोबारेमा जानकारी दिएका हुन् ।
समस्याको समाधान खोज्ने क्रम अझै जारी रहेको र ९५ प्रतिशत व्यवसायी र घरधनीबीच घरभाडा र व्यवसाय सञ्चालनका लागि सहमति भएको व्यवसायीसमेत रहनुभएका घरधनी योगराज राजभण्डारीले जानकारी दिनुभयो ।
१ दशमलव ५ किलोमिटरभित्र रहेका १ हजार २ सय घरधनी र व्यवसायीबीच सहमति हुँदै गएको र यसले मुलुकभर व्यवसाय गर्नेहरुलाई एउटा नमुना प्रदान गरेको व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले घरभाडा तिर्न नसकेर ७० भन्दा बढी व्यवसायी पलायन भएको तथा केही व्यवसायी र घरधनीबीच अझै समस्या देखा परेकाले सहमति खोज्ने प्रयास भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा परेको ठमेलमा अहिले व्यवसायी र घरधनीले ४ अर्बभन्दा बढी लगानी गरेको यो क्षेत्रको समस्या समाधान गर्न सरकारले पनि चासो देखाउनुपर्ने व्यवसायी श्रेष्ठले बताउनुभयो ।
अहिले ठमेल क्षेत्रमा २–२ सयको हाराहारीमा होटल, रेस्टुरेन्ट, ट्रेकिङ ट्राभललगायतका अन्य व्यवसायीलाई सम्बोधन गर्न घरधनी तथा व्यवसायी तयार भएको राजभण्डारीले जानकारी दिनुभयो ।
घरधनी र व्यवसायीले संयुक्तरूपमा बैंकको ब्याजमा पुनर्विचार गर्न, विद्युत्, टेलिफोन, इन्टरनेटमा छुट दिने व्यवस्था मिलाइदिन पनि सरकारलाई आग्रह गरेका छन् ।
ठमेलका व्यवसायी र घरधनीबीच भिन्न खाले समस्या भएकाले समाधान पनि घरधनी र व्यवसायीले मिलाउनुपर्ने देखिएको छ । ‘ठमेलका कतिपय व्यवसायीले घरभाडामा दिँदा सरकारलाई कर कम तिर्न दोहोरो कागज गरेको फेला परेकाले त्यो समस्या समाधान गर्न पनि अहिले हामी खटिएका छौं ।’ –राजभण्डारीले भन्नुभयो ।
घरबहाल महँगो भएका कारण कतिपय व्यापारी भने घरधनीले जति नै छुट भए पनि त्यसले आफूहरुलाई सम्बोधन गर्न नसक्ने बताएका छन् । घरधनी र व्यवसायीबीच भएको सहमतिमा ३५ प्रतिशतदेखि ७० प्रतिशतसम्म घरभाडा छुट दिएको पाइएको छ । हुनेखाने घरबेटीले ७० प्रतिशतसम्म घरभाडा छुट दिएका छन् भने अन्यले ३५ प्रतिशतसम्म छुट दिएको राजभण्डारीले जानकारी दिनुभएको छ ।











प्रतिक्रिया