बाग्मती प्रदेश: मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन करार


हेटौंडा, (नेस)

बाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षभर गर्ने कामका विषयमा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरूबीच करार सम्झौता गरेको छ । उक्त सम्झौतामा बिहीबार हस्ताक्षर गरिएको हो ।

प्रदेशका सबै मन्त्रालयले गर्ने कामका विषयमा मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, सामाजिक विकासमन्त्री युवराज दुलालसँग करार सम्झौता गर्नुभएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा जिल्लाबाहिर रहेकाले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल भने उपस्थित हुन सक्नुभएन ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशका नीति, कार्यक्रम र गर्ने कामको प्रतिबद्धताका लागि सम्झौता गरिएको बताउनुभयो । करार सम्झौता संघीय सरकारले पहिलेदेखि नै गरेको भए पनि प्रदेश सरकारले पहिलोपटक गरेको बताउँदै उहाँले भन्नुभयो– सम्झौताले कामप्रति प्रेरित गर्न थप सहजता प्रदान गर्नेछ ।’