लगातार वर्षा हुँदा स्थानीयमा त्रास


डोटी, (नेस)

ग्रामीण बस्ती विभिन्न कारणले बाढी तथा पहिरोको उच्च जोखिममा भएका कारण स्थानीयलाई हिजोआज चिन्ता बढ्न थालेको छ । डोटीमा भारी वर्षात् शुरू भएसँगै बाढी–पहिरोको त्रास फैलिएको हो ।

वर्षात्का कारण पहिरो जाँदा जिल्लाको एक दर्जनभन्दा बढी सडक अवरुद्ध भएका कारण सुत्केरी तथा बिरामीलाई अस्पतालसम्म पु¥याउन समस्या भएको छ ।वर्षात्कै कारण जिल्लाको सायल गाउँपालिका–२ सिर्मा गाउँमा पहिरो जाँदा आठ परिवारका ४० जना विस्थापित भएका छन् ।

उनीहरू खुला जमिनमा पाल टाँगेर बस्न बाध्य भए । वर्षात्को समय शुरू भएकाले यहाँका स्थानीयबासीलाई कति बेला कहाँ बाढी–पहिरो आउने हो त्यही विषयले पिरोली रहेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयबासी गणेश विष्टले बताउनुभयो । जिल्लाको शिखर नगरपालिका–१० बनलेग र वडा नं ११ बारपाटामा वर्षैनी वर्षात्को समयमा बाढी–पहिरोले निकै दुखः दिने गरेको छ ।

सेती नदीमा पानीको बहाव बढेसँगै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयबासी बताउँछन् । सेतीनदी किनारमा रहेका यहाँका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, दिपायल, घोलतडा नारिदाङलगायतका अधिकांस बस्ती वर्षौंदेखि बाढीको उच्च जोखिममा रहेका छन् ।

सम्भावित दैबी प्रकोपका घटनाहरुलाई मध्यनजर गर्दै जिल्लामा विपद् पूर्वतयारीका विभिन्न कार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको विपद् प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय, समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ–संस्थालाई सम्भावित प्रकोप भइहाले उद्धारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो ।

जिल्लाका विभिन्न २२ वटा स्थानलाई दैवी प्रकोपको हिसावले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानहरुको पहिचानको आधारमा विभिन्न संघ–संस्थाले उक्त क्षेत्रमा कार्य गरिरहेका छन् ।