यात्रु बोक्ने एम्बुलेन्स काभ्रे प्रहरीको नियन्त्रणमा


काभ्रे, (नेस)

बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोकेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएर कारबाही शुरू गरेको छ ।

‘सर्लाही जिल्लाको बबरगन्जबाट काठमाडौं यात्रु लिएर आउँदै गरेको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही शुरू गरेका छौं’, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेल बताउनुहुन्छ– ‘बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोक्न नपाइने भए पनि पैसाको प्रलोभनमा यात्रु बोकेको फेला परेको हो ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेले अरनिको राजमार्गको साँगा चेक पोस्टमा उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको एसपी पौडेलले बताउनुभयो ।

सर्लाहीबाट काठमाडौंसम्मको १४ हजार रुपियाँ रिजर्भमा यात्रु बोकेको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी एवं सूचना अधिकृत कुमारविक्रम थापाको कथन छ ।

बा५च ८६३८ नम्बरको एम्बुलेन्सले सर्लाहीबाट काठमाडौं ६ जना यात्रु राखेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।