मृतकका परिवारलाई नगरपालिकाद्वारा राहत


लमजुङ, (नेस)

गत बिहीबार अर्थात् असार २५ गते राति पहिरोमा परेर ज्यान गुमाउनेकोे परिवारलाई बेंसीशहर नगरपालिकाले राहत प्रदान गरेको छ ।

भीषण पानी परिरहेका बेला बिहीबार राति घरमाथिबाट एक्कासि आएको पहिरोले पुरिँदा बेंसीशहर नगरपालिका–१० खाँचे घर भई हाल बेंसीशहर नगरपालिका–७ सातबीसेमा बस्दै आएका ३३ वर्षीय दीपक तामाङ, उनका पत्नी २७ वर्षीय बिमाया तामाङ र छोरा १० वर्षका छेवाङ तामाङ गरी तीन जनाकै घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक प्रतिव्यक्ति १–१ लाख रुपियाँका दरले परिवारलाई ३ लाख रुपियाँ राहत प्रदान गरेको नगरपालिकाले जनाएको छ । उक्त राहत रकम नगरपालिकाको विपद् कोषबाट दिइएको हो ।

मृतक दीपकको दिदी सावित्री तामाङको घरमा पुगेर बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारीलगायतले मृतकका बुवा हर्र्कबहादुर र आमा कान्छी तामाङलाई ३ लाख रकम हस्तान्तरण गर्नुभएको हो ।

विपद्मा परेका परिवारलाई शान्त्वना दिन र जीवनयापनमा सहज बनाउन राहत दिइएको नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारीको भनाइ छ ।