पहिरोपीडितलाई टहरो, बेपत्ताको खोजी जारी


इन्द्र गिरी, संखुवासभा

संखुवासभाको सलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा गएको पहिरोबाट विस्थापितलाई सिसुवाको बुधबारेमा अस्थायीरूपमा राखिएको छ । चार दिनअघि पहिरोमा ९ घर पर्दा ११ जना बेपत्ता भएका थिए ७३ घर–परिवारका ३ सय ४९ जना विस्थापित भएका छन् ।

बेपत्ताको चार दिनदेखि स्थानीय, नेपाली सेना, प्रहरी र सशस्त्रको ६० जनाको टोलीले खोजीकार्य जारी राखे पनि हालसम्म कोही पनि नभेटिएको प्रहरीले जनाएको छ ।

खाद्यान्न अभाव र अत्यधिक चिसोका कारण झाडापखाला तथा ज्वोरोका बिरामी बढ्न थालेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामकुमार राईले बताउनुभयो ।

पहिरो गएका ठाउँमा अझै पानी परिरहेकाले सिसुवाको चेप्चेवा, होयाङला, तेनछोङ, माथलो तेनछोङ, याङसिला, गोगनेलगायतका गाउँ पहिरोको उच्च जोखिममा रहेको अध्यक्ष राईले बताउनुभयो ।

विस्थापित परिवारलाई राहत सामग्री लिएर प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई आए पनि बाक्लो हुस्सु र कुहिरोले चित्रेगाउँमा हेलिकोप्टर बस्न नसकेपछि उहाँ फर्किनुभएको थियो ।

प्रदेश नं १ सरकारले राहतरूप पहिरोपीडितका लागि २ हजार ४ सय केजी खाद्यान्न, दाल ४ सय केजी, नुन १ सय केजी, तेल ८५ लिटर, १ सय वटा पाल, लत्ताकपडा, ओढ्ने कम्बल, बिस्कुट चाउचाउलगायतका सामग्री उपलब्ध गराएको छ ।

तुम्लिङटारबाट राहत सामग्री बोकेर प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, पूर्वराज्यमन्त्री तारामान गुरुङ, प्रजिअ जीवनप्रसाद आचार्य, पुग्नुभएको थियो । पूर्वराज्यमन्त्री दीपक खड्का र पर्वतोरोही मिङमा शेर्पाले सिम्रिक एयरको हेलिकोप्टरबाट राहत सामग्री सिसुवाको बेसिन्दामा पु¥याई घाइतेको उद्धार गरेर खादबारी ल्याउनुभएको थियो ।