सेनाका जवानसहित ६ जनामा कोरोना


गणेश घिमिरे, इलाम

क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानसहित इलाममा बिहीबार एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पाँच जना इलाम नगरपालिकास्थित जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेका हुन् भने नेपाली सेनाका जवान सोही क्वारेन्टाइनको सुरक्षामा खटिएका थिए ।

सेनाका जवानबाहेक बाँकी पाँच जना संक्रमित इलाम नगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालका अनुसार इलाम नगरपालिका–८ का एक जना, वडा नम्बर १० का तीन जना र वडा नम्बर ७ का दुई जनामा कोरोनाको पुष्टि भएको हो । कोरोना पुष्टि भएकामध्ये दुई जना २२ वर्षका छन् ।

४० वर्ष, २९ वर्ष, ३२ वर्ष र १९ वर्षका १–१ जना रहेका छन् । सेनाका जवानबाहेक संक्रमित पाँच जनामध्ये कुवेत, कतार र ग्रिसबाट आएका १–१ जना तथा भारतबाट आएका दुई जना रहेका छन् । उनीहरू गत १७ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । उनीहरूको असार २८ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।

संक्रमण पुष्टि भएका सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा यसअघि १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसँगै इलाममा संक्रमितको सङख्या २२ पुगेको छ । यता संक्रमितमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् ।

इलाम नगरपालिकामा एकैदिन ६ जना संक्रमित थपिएसँगै यस नगरपालिकामा मात्रै ७ जना संक्रमित पुगेका छन् । यस्तै सूर्योदय नगरपालिकामा ११ जना, दउमाई र माईनगरपालिका तथा रोङ र सन्दकपुर गाउँपालिकामा एक/एक जनामा संक्रमिण पुष्टि भइसकेको छ ।