आफ्ना छोराछोरीको घरभाडा तिर्दै एसओएस बालग्राम



भगवती तिमल्सिना, काठमाडौंं

बन्दाबन्दी भएपछि देशभरका उद्योग, कलकारखाना, विमानस्थल, होटललगायतबाट रोजगारी गुमाउन पुगेका आफ्ना छोराछोरीप्रति एसओएस बालग्राम नेपाल संवेदनशील देखिएको हो । लकडाउनका कारण रोजगारी गुमाएर समस्यामा परेका आफ्ना छोराछोरीको घरभाडा तिर्नदेखि उनीहरुको तत्कालका घरायसी समस्या समाधान गर्न एसओएस बालग्राम नेपालले समाजमा पुनःस्थापित १ सय ५ जना आफ्ना छोराछोरीका लागि नगद सहयोग गरी उदाहरणीय र अनुकरणीय काम गरेको छ ।

कोरोना संक्रमणले महामारी निम्त्याएको बेला एसओएस बालग्राम नेपालले समाजमा भर्खरै पुनःस्थापित भएका छोराछोरीप्रति आफ्नो कर्तव्य पालना गरिरहेको हो । घर छोडेर भिन्नै बसेका छोराछोरीलाई त जन्म दिने बाबुआमाले खासै चासो नदिने वर्तमान समाजमा बालग्रामको कर्तव्य प्रशंसनीय छ ।

बालग्रामको आपत्कालीन कोषबाट तत्कालका लागि प्रतिछोरा÷छोरी १० हजारको दरमा कुल १० लाख ५० हजार आर्थिक सहयोग गरिएको एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

‘रोजगारी गुमाएर आर्थिक समस्यामा परेका हाम्रा त्यस्ता छोराछोरीलाई रोजगारीको अर्काे व्यवस्था मिलाउन र रोजगारी नहुन्जेलसम्मका लागि थोरै नै भए पनि नियमित रुपमा सहयोग गर्न हामी प्रयासरत छौं’, शर्मा भन्नुहुन्छ– ‘यसका लागि एसओएस बालग्राम अन्तर्राष्ट्रियदेखि एसओएस बालग्राम नेपाललाई नियमित सहयोग गर्दै आएका नेपाली दाताहरुसंग अनुरोध गरिरहेका छौं ।’

बालग्रामलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने एक हजार ८० जना स्थानीय दाता छन् । नेपालभरि रहेका एसओएस बालग्राममा हुर्केका छोराछोरी पढाइ सकेर रोजगार भइसकेपछि ‘समाजमा पुर्नस्थापित’ हुने बालग्रामको नियम रहेको छ ।

नेपालमा हालसम्म २ हजार ५ सय जना छोराछोरी समाजमा पुनस्र्थापित भइसकेका छन् भने ८ सय जना छोराछोरी बालग्रामको युवालाई (छात्रावास) मा बसेर उच्च शिक्षा अध्ययनरत छन् । १ हजार २ सय छोराछोरी १० वटा बालग्रामको पारिवारिक घरमा बसिरहेका छन् । समाजमा पुनस्र्थापित भइसकेकाको आर्थिक अवस्था भने राम्रो छ ।

बालग्रामले नेपालभरि रहेका १० वटा एसओएस बालग्रामबाट परिवार सुदृढीकरण कार्यक्रम (एफएसपी) का लाभग्राही विपन्न र अति जोखिममा रहेका ४ सय ८५ परिवारका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न पनि सहयोग गरेको राष्ट्रिय निर्देशक शर्माले बताउनुभयो ।

परिवारमा साना केटाकेटी भएका, बिरामी र अपांगता भएका र लकडाउनका कारण दैनिक रोजीरोटी र सानोतिनो व्यापारसमेत गुमाउन पुगेका त्यस्ता ४ सय ८५ विपन्न परिवारका लागि चामल, पिठो, तेल, दाल, नुनलगायतका खाद्यान्न वितरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्