काठमाडौं, (नेस)
काठमाडौं उपत्यकाका आसपासका विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नुवाकोटका छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबीसे, गल्छीदेखि नुवाकोटको चाउथे, बन्चरेडाँडा र काठमाडौंको तीनपिप्लेमा नयाँ शहर निर्माण गर्न लागिएको हो ।
काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ शहर निर्माणको योजना ल्याएको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव मधुसूदन अधिकारीले आगामी बजेट वक्तव्यमा यस्तै केही नयाँ कार्यक्रमसहित मन्त्रालयले बजेटको तयारी थालिएको जानकारी दिनुभयो ।
सचिव अधिकारीले मन्त्रालयले चालू अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै वैकल्पिक चक्रपथसहितको नयाँ शहर आयोजना अगाडि सारिने बताउनुभयो । उहाँको अनुसार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा यस योजनालाई अगाडि सार्दै बजेट तर्जुमा गरिनेछ ।
मन्त्रालयले आगामी बजेटमार्फत कम्तीमा १ लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउने गरी बजेटको प्रस्ताव गरिएको छ । मन्त्रालयले सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राख्दै फुस र खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने योजनाअनुसार बजेटको प्रस्ताव गरिएको बताएको छ ।
मन्त्रालयले प्रस्तावित टोखा–छहरे सुरुङमार्ग, निर्माणाधीन नौबीसे सुरुङमार्ग आदि आयोजनाका साथै वैकल्पिक चक्रपथसहितको नयाँ शहर निर्माणलाई प्राथमिकतामा राखेको छ ।
उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथको निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया