स्वास्थ्यकर्मीको तलब नकाट्न अपिल


काठमाडाैं, (नेस)

स्वास्थ्यकर्मी तथा चिकित्सकको तलब सुविधा कट्टा गर्ने कार्य विभेदकारी भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको उपचारमा दत्तचित्त भई निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्थामा उनीहरूको मनोबल उच्च राख्न राहत कोषमा रकम नकाट्न संघले अपिल गरेको छ ।

संघले उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीसरहकै सुविधा दिने मन्त्रिपरिषद्को निर्णयले देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई थप हौसला प्रदान गरेको बताउँदै विपद्मा खटिने स्वास्थ्यकर्मीको अनुमतिबेगर राहतकोषमा रकम जम्मा गर्न दबाब दिने तथा विभेदीकरण न्यायोचित नहुने बताएको छ ।

स्वास्थ्यसँग सरोकार राख्ने कुनै पनि जिम्मेवार निकायले स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबललाई गिराउने अस्वाभाविक र विभेदीकरण गर्ने निर्णयहरू नेपाल चिकित्सक संघलाई मान्य नहुने जनाएको छ ।