महर्जन मानसिक तनावमुक्त



ललितपुर, (नेस)

कोरोना भाइरस संक्रमित भनिएका ललितपुर लुभुका अशोक महर्जनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ । सामाजिक दबाब थेग्न नसकेर महर्जनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार स्वास्थ्य परीक्षण गराउनुभएको थियो । महर्जनको रिपोर्ट कोरोना नेगेटिभ आएसँगै महर्जन र उहाँका परिवारले आठ दिनदेखि झेलिरहेको मानसिक तनावबाट छुट्कारा पाएका छन् ।

महर्जन बुटवलबाट आफ्नो मोटरसाइकल चढेर वैशाख १० गते घर आउनुभएको थियो । घर आएदेखि महर्जन कोरोना संक्रमित भएको हल्ला छरछिमेक, समाजमा हावासरी फैलिएको थियो । कुनै सञ्चारमाध्यम वा आधिकारिक स्रोतबिना नै यस हल्लालाई लुभु आसपाससँगै ललितपुरमा कयौंले पत्याए पनि ।

‘मैले लुभुस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ आएको रहेछ भन्ने हल्ला गाउँमा निकै फैलिएको थियो । मैले स्वास्थ्य परीक्षण गराएको नै छैन, मानिसहरूले बिनाआधार कोरोना पोजेटिभ देखिएको भनेर अफवाह फैलाए ।’ –महर्जनले भन्नुभयो ।

हल्लाले ललितपुरमा आतंक नै मच्चाएको बताउँदै उहाँले भन्नुभयो– ‘यसले म र मेरो परिवारले निकै तनावको झेल्नुप¥यो । स्वास्थ्य परीक्षण गराउनुपर्ने सामाजिक दबाब बढ्दै गएको थियो ।’

आफ्नो रिपोर्ट कोरोना नेगेटिभ देखिएको अस्पतालको प्रमाणितपत्र सामाजिक सञ्जालमा राखेर महर्जनले महामारीका बेला यस किसिमको हल्ला नफैलाउन आग्रहसमेत गर्नुभयो ।

‘हल्लाकै कारण म मेरो परिवारले आठ दिनसम्म अनेक कष्ट झेल्नुपर्यो । यस्तो संकटको बेला हल्लाको भरमा आतंक मच्चाउनु कदापि ठीक होइन ।’ –महर्जनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्