पौडेललाई जापानले दियो उदाउँदो सूर्य



काठमाडौं (नेस) ।

जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई वसन्त सम्राट श्रृंगार पदक अर्डर अफदि राइजिङ सन प्रदान गरेको छ । नेपालस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्ति प्रकाशित गरी बुधबार जानकारी गराएअनुसार विदेशी नागरिकलाई समेत प्रदान गरिने यो पदक प्रतिनिधि सभाका सभामुख भई सफलताका साथकार्य गरेका कारण पौडेललाई प्रदान गरिएको हो । यस पदकको नाम स्प्रिङ्ग इम्पेरियल डेकोरेसन, २०२० रहेको छ ।

पौडेललाई सभामुख हुँदा उहाँले नेपाल–जापानबीच प्रतिनिधि सभाको सम्बन्ध विस्तारमा उल्लेख्य योगदान गरेबापत यो सम्मान प्रदान गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । पौडेलले नै २०५६ सालमा नेपाल–जापान फ्रेण्डशिप पार्लियामेन्टारियन लिग गठन गर्नुभएको थियो ।

निरन्तर १८ वर्षसम्म लिगको नेतृत्व गर्नुभएका पौडेलले यसबीच दुई देशको सम्बन्ध विस्तारमा योगदान दिनुभएको जापान सरकारको ठहर छ । उहाँकै कार्यकालमा जापानी पाहुनाहरु युवराज अकिहितो, युवराज्ञी मिचिको, प्रधानमन्त्री योसिरो मोरी, परराष्ट्र राज्यमन्त्री मिनोरु कियुची लगायतले नेपालको भ्रमण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्