सिद्धार्थनगर पालिकाद्धारा एक महिनासम्म पुग्ने खाद्य सामग्री प्रदान



यमलाल भुसाल, बुटवल  ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर पालिका भैरहवाले गरीव तथा विपन्न नगरवासी र मजदुरहरुलाई करिब एक महिना सम्म पुग्ने खाद्य सामग्री बितरण शुरु गरेको छ ।

नगरकार्यपालिकाले कार्यबीधि नै बनाएर हरेक वडा वडामा उक्त सामग्री वितरण शुरु गरेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो- ‘करिब एक महिना सम्म खान पुग्नेगरी परिवार संख्याको आधारमा औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुर , श्रमजीवि वर्ग र विहान बेलुका खाना समस्या परेकाहरुलाई खाद्यान्न सहयोग प्रदान गर्न थालेका छौ ।’

नगर प्रमुख अधिकारीले भन्नुभयो- ‘१३ वटै वडाले लकडाउनको कारण खाना समस्या भएकाहरुको लगत संकलन गरी वडा स्तरीय निर्णय गरेर पठाएका छन् । त्यसैको आधारमा नगरले खाद्यान्न सहयोग गर्दैछ । ’

नगर प्रमुख अधिकारीका अनुसार नगरभित्र बसोबास गर्ने २ हजार ८ सय ९ जना मजदुर, २ हजार २४ जना भाडामा बस्ने कमजोर आर्थिक अवस्था भएका नागरिक, एक सय जना भारतीय नागरिक गरी जम्मा ४ हजार ९ सय ३३ जनालाई एक महिना सम्म खाना पुग्नेगरी खाद्यान्न सामग्री राहत स्वरुप प्रदान गर्न थालिएको हो । नगरले यसअघि १८७२ जनालाई पहिलो चरणको राहत सहयोग उपलब्ध गराएको थियो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनिका अनुसार आइतबारदेखि वडा कार्यलय मार्फत मजदुरहरलाइ खाद्यान्न उपलब्ध गराउन थालिएको छ ।

नगरपालिकाले परिवार संख्याको आधारमा खाद्यान्न सहयोग गर्न थालेको हो । नगर उप्रमुख उमा काफ्लेका अनुसार एक जना परिवार संख्या भएको घरधुरीले १० के जि चामल, २ केजि दाल र नुन , साबुन पाउनेछन् । यसैगरी २ देखि ४ जना सम्म परिवार संख्या भएको घरधुरील १५ केजि चामल, ३ केजि दाल, साबुन र नुन पाउनेछन् । यसैगरी ५ जना भन्दा बढी परिवार संख्या भएको घरधुरीले ३० केजि चामल ४ केजि दाल, साबुन र नुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्