आइसोलेसन वार्डसहितको पूर्वतयारी



खोटाङ, (नेस)।
जिल्ला अस्पताल खोटाङमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आइसेलेसन वार्डसहितको पूर्वतयारी गरिएको छ। कोरोनाको संक्रमण जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा आवश्यक तयारी गरिएको हो।
यसअघि नै तीन शैयाको आइसेलेसन वार्ड तयार गरिएको अस्पतालमा कोरोना संक्रमितको परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्रीका खरिदका लागि टोली खटाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा कम्तीमा १० थान व्यक्तिगत सुरक्षा सामग्री तत्कालै व्यवस्था गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहेको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो।
कोरोनाका शंकास्पद बिरामी उपचारमा आएको खण्डमा तथा संक्रमित फेला परेको अवस्थामा अन्यलाई सर्न नदिनका लागि पूर्वतयारीस्वरुप आइसोलेसन रुमको व्यवस्था गरिसकिएको जिल्ला अस्पतालका डा. शैलेश श्रेष्ठले बताउनुभयो।
यस्तै, कोरोनाको संक्रमण रोक्नका लागि जिल्लाको जयराम, रेग्मीटार, रसुवाघाट, बंशिलाघाट, ऐसेलुखर्क, लामीडाँडालगायतका नाकामा हेल्पडेस्क राख्ने तयारी भइरहेको जानकारी दिइएको छ।
कोरोनाबाट बच्नका लागि जिल्लाका १० वटै स्थानीय तहले पनि सचेतनामूलक सन्देश प्रवाह गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो।
यसैबीच, चीनबाट फर्किएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका एक युवालाई कोरोनाको संक्रमण भएको अफवाह फैलिएकाले त्रसित नहुन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्