सापकोटामाथि कुनै मुद्दा छैन : प्रचण्ड



चितवन : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन्।पत्रकारसँग कुरा गर्दै सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको उनले बताए ।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटाविरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’

सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै प्रचण्डले थपे, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’

प्रचण्ड गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए ।

प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको भन्दै प्रचण्डले प्रश्न गर्दै भने, ‘यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।’

प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उनको भनाइ छ। नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै प्रचण्ड चितवन आइपुगेका हुन् ।रासस

प्रतिक्रिया दिनुहोस्