सम्झनामा तारादेवी



स्वरकिन्नरी तारादेवी श्रेष्ठको १४औं पुण्य तिथिको अवसरमा बिहीबार राजधानीमा एक भव्य कार्यक्रम गरी उनको स्मरण गरिएको छ। तारादेवी स्मृति फाउन्डेसनद्वारा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्झनामा तारादेवी नामक कार्यक्रम गरी उनको स्मरण गरिएको हो।

काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा तारादेवीका प्रथम गुरु भैरवबहादुर थापाका साथमा उनको गीतमा सबैभन्दा बढी संगीत भर्ने संगीतकार नातिकाजी श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको छ।

त्यसै गरी तारादेवीका सांगीतिक जीवनलाई उचाइमा पुर्याउन सबैभन्दा बढी गीत उपलब्ध गराएका गीतकार किरण खरेललाई पनि सम्मान गरियो। सम्मानका साथ जनही नगद २५ हजार १ रुपियाँ प्रदान गरिएको थियो। कार्यक्रममा गायिका ज्ञानु राणाले आफ्नो सहकर्मी तारादेवीको सम्झनामा काली पारे दाइ कति राम्रो बोलको गीत गाएकी थिइन् भने प्रेमध्वज प्रधान र तारादेवीको स्वर रहेको यो नेपाली शीर उचाली बोलको गीत आस्था कला केन्द्रका गायकगायिकाले प्रस्तुत गरेका थिए।

त्यसै गरी तारादेवीको स्वर रहेको गीत ए कान्छा विजय नारायण मानन्धर र विष्णु चेम्जोङले, अमर माया बोलको गीत जिना रसाइँलीले, आउ न आउ तिम्रो खुसी प्राश्ना शाक्यले, हिमालको काखमा छ सानो मेरो गाउँ गीता पाण्डेले प्रस्तुत गरेका थिए।

नाइटिङ्गेल अफ नेपालको उपाधि पाएकी तारादेवीले ४० वर्षको अवधिमा ४ हजारजति गीत गाएर सांगीतिक क्षेत्रलाई उचाइमा पुर्याउन योगदान गरेकी थिइन्। उनले फूलको थुंगा बगेर गयो, नौ सय खोला तरेर जाने, उकाली ओरालीहरूमा, निर्दोस मेरो पछ्यौरिमा, ए कान्छा, हिमालको काखमा छजस्ता अजर र अमर गीतहरू गाएकी छिन्।

वास्तविक नाम डोलकुमारी कार्की भए पनि उनी तारादेवीको नामले नेपाली सांगीतिक आकाशमा चम्किएकी थिइन्। सानै उमेरदेखि नै गाउन थालेकी तारादेवीको ४ गीत समावेश एल्बम आफन्तको मन अन्तिम एल्बम हो।

कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले स्वर, विचार र संगीत सबै प्रदान गरेकी तारादेवीको योगदानलाई चिरस्थायी बनाउन आफूले सक्दो सहयोग र साथ दिने बताए।

उनले तारादेवी सिंगो देशको सम्पत्ति हुनाले त्यसमा ताला लगाउन नमिल्नेसमेत चर्चा गरे। काठमाडांै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले टाढाबाट चिनेको तारादेवी र उनको कलायात्रालाई अमर राख्न पछि नपर्ने बताए।

संगीतकार शम्भुजित बास्कोटाले तारादेवी गायिका मात्र नभई संगीतकार पनि रहेको चर्चा गर्दै उनलाई भारतकी लता मगेसकर जस्तै सम्मान दिनुपर्ने औंल्याए।

आस्था कला केन्द्रका अध्यक्ष तथा र तारादेवी फाउन्डेसनको कोषाध्यक्ष रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्दै तारादेवीको नाममा आस्था कला केन्द्रले २ जना विद्यार्थीलाई गायनमा छात्रवृत्ति प्रदान गर्ने बताए। फाउन्डेसनका अध्यक्ष दीपक केसीले तारादेवी नेपाली संगीत क्षेत्रको हीरा भएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्