काठमाडौंमा नै सार्वजनिक जग्गा अतिक्रमण गर्ने परिवार ३ हजार



काठमाडौं ।

संघीय राजधानी रहेको काठमाडौं जिल्लामा नै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने परिवारको संख्या ३ हजार बढी रहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न अध्ययन अनुसन्धानका आधारमा काठमाडौं जिल्लामा ३ हजार घरपरिवारले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आइरहेको पाइएको जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले केही समयअघि सहरी विकास मन्त्रालयले गरेको अध्ययन अनुसन्धानले काठमाडौंमा मात्रै सरकारी जग्गा अतिक्रमणमा ३ हजार घरपरिवार संलग्न रहेको देखाएको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केही समयअघि सहरी विकास मन्त्रालयले गरेको अध्ययनले काठमाडौं जिल्लामा मात्रै ३ हजार घरपरिवार सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको देखाएको छ, जसमा २२ सय परिवार काठमाडांै महानगरपालिकाभित्रै छन्।’

ती ३ हजार परिवारले काठमाडौंमा २०३८ सालदेखि नै सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आइरहेकाले उनीहरूलाई हटाउन निकै चुनौती रहेको बताइएको छ। विशेष गरी उनीहरूलाई विभिन्न राजनीतिक दलले लामो समयदेखि संरक्षण गर्दै आइरहेको र दलहरूको भोट बैंकका रूपमा रहेकाले पनि राजनीतिक दलहरू उनीहरूलाई हटाउने पक्षमा रहेका छैनन्।

वर्षौंदेखि बसोबास गर्दै आएकाले उनीहरूलाई विकल्प दिएर मात्रै हटाउनुपर्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । ४२ वर्षदेखि लगातार बस्दै आएकाले उनीहरूले सो जग्गालाई आफ्नै पैतृक थलोको रूपमा लिँदै आएका छन्।

यद्यपि, उनीहरूसँग पुर्जा भने छैन । त्यसरी वर्षौंदेखि बसोबास गर्दै आइरहेका ३ हजार परिवारका बारेमा के गर्ने भन्ने विषय माथिल्लो लेबलमा नै छलफल गरेर निकास खोज्नुपर्ने प्रमुख जिल्ला अधिकारी बस्नेतको धारणा छ । तर, पछिल्ला वर्षहरूमा काठमाडौंका विभिन्न सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बसेकाहरूको अवस्था पत्ता लगाएर उनीहरूलाई भने हटाउने गृहकार्य थालिने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

केही दिनअघि मात्रै गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका परिवारको खोजी गरी उनीहरूलाई हटाउन निर्देशन दिएको थियो।

गृहको सो निर्देशनसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गाको खोजी थालेको हो। काठमाडौं प्रशासनले जिल्लाभरमा कुनै पनि ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण भएको थाहा पाउने सर्वसाधारणलाई त्यसको जानकारीसहितको निवेदन दिनसमेत आह्वान गर्दै आएको छ।

सो आह्वानअनुसार हालसम्म सर्वसाधारण नागरिकले २५ वटा निवेदनमार्फत् काठमाडौंका विभिन्न स्थानमा भएका सार्वजनिक जग्गा अतिक्रमणको विवरण प्रशासन कार्यालयमा दिएका छन्।

काठमाडौं प्रशासनले निवेदनमार्फत् सार्वजनिक जग्गा अतिक्रमणको विवरण माग्ने र त्यस्ता जग्गाको खोजी गर्ने क्रम जारी राखिएको जनाएको छ। काठमाडौंका वागमती, विष्णुमती नदी क्षेत्रका सार्वजनिक जग्गा पनि अतिक्रमणको चपेटामा पर्दै आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

जितेन्द्र बस्नेत प्रमुख जिल्ला अधिकारी, काठमाडौं 

काठमाडौं महानगरपालिकालगायत जिल्लाका सम्पूर्ण स्थानीय तहसँग आवश्यक समन्वय गरी सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन आवश्यक पहल थालेका छौं, यद्यपि यो चुनौतीपूर्ण छ । सबैको सहयोग र साथ पाएमा सफलता हासिल गर्न भने कठिन छैन ।

 

कहाँ कहाँ भएका छन् अतिक्रमण ?
–काठमाडौं महानगरपालिका–१६ ढुंगेधारा नर्सरी चोक, कामनपा–७ सरस्वतीनगर शिवमन्दिर पञ्चायन मन्दिरको पूर्वपटि, कामनपा–१० बानेश्वर महादेवस्थान, कामनपा–४ प्रगति टोल धुम्बाराही, कामनपा–२६ सामाखुशी, कामनपा–६ रामहिटी बौद्ध
–बूढानीलकण्ठ नगरपालिका–३, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रहेको विभिन्न स्थानका मध्यवर्ती क्षेत्र, सोही नपा–४ को मध्यवर्ती क्षेत्र, बूढानीलकण्ठ नपा–७, बूढानीलकण्ठ नपा–२ चपलीमा रहेको महादेव कोलोनी
–चन्द्रागिरि नगरपालिका–१०, चन्द्रागिरि नपा–८ मातातीर्थ क्षेत्र
–नागार्जुन नगरपालिका–७ केउरानी सामुदायिक वन क्षेत्र
–टोखा नगरपालिका–३, टोखा नपा–१ साविक झोर महांकाल गाविस
–गोकर्णेश्वर नगरपालिका तालिञ्चोक, देशेघाउ
–कीर्तिपुर नगरपालिका–५ साविक बालकुमारी वडा नं १ क
–तारकेश्वर नपा–२ साविक काभ्रेस्थली–७, तारकेश्वर नपा–७ र १ को सिमाना
–कागेश्वरी मनोहरा नपा–९ चन्द्रसूर्य टोल सेवा सामाजको दक्षिणतर्फ

प्रतिक्रिया दिनुहोस्