आठ भारतीय पर्यटकको मृत्यु



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र थाहानगर–४, सीमभञ्ज्याङस्थित होटल एभरेस्ट पानोरमा रिसोर्टमा बेहोस भएका आठ पर्यटकको मृत्यु भएको छ।

दुई कोठा लिएर रिसोर्टमा ‘नाइट स्टे’ गरेका भारत केरला बस्ने वर्ष ३८ का रञ्जित कप, वर्ष ३४ की इन्द्रा, वर्ष ३७ का प्रवीण, वर्ष ३२ की सरिया, वर्ष ५ को अभी, वर्ष ७ की अर्चना, वर्ष ५ का वैशनव र वर्ष ९ की बन्द्रा मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए।

बेहोस रहेका आठै जनालाई काठमाडौंको हेम्स अस्पतालका डाक्टरले मंगलबार दिउँसो करिब १२ बजे मृत घोषणा गरेका थिए। बेहोस सबैलाई उपचारका लागि हेम्स अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार बिहान करिब साढे ९ बजे कोठामा हेर्दा ८ जना बेहोस अवस्थामा भेटिएको खबर प्रहरीलाई आएपछि तत्काल सीमभञ्ज्याङ चौकी र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उद्धार गरी काठमाडौं पठाएको थियो।

घटनास्थलमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले जानकारी दिनुभयो। ती पर्यटकहरू दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एउटै कोठामा भेटिएको प्रहरीले जनायो

होटलका कर्मचारीका अनुसार उनीहरूलाई हिटर बालेर नसुत्न आग्रह गर्दा पनि केटाकेटीलाई असर गर्ने भन्दै मानेका थिएनन्।दामनमा अधिक चिसो रहेको र कोठा तातो बनाउन ग्यास हिटर बालिएकाले निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीका अनुसार नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएका उनीहरू सोमबार राति करिब १० बजे होटल पुगेका थिए। १५ जनाको टोलीमा भारतको केरलाबाट नेपाल घुम्न आएका उनीहरू बा३क ३६८८ नम्बरको बस चढेर थाहानगर पुगेका थिए।

भारतीय विदेशमन्त्रीद्वारा दुःख व्यक्त

उक्त घटनाप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले दुःख व्यक्त गर्नुभएको छ।‘नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत भएको छु। काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पच्छ्याइरहेको छ।

दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन्।’ –मंगलबार ट्वीट गर्दै जयशंकरले भन्नुभएको हो।

यसअघि केरलाका मुख्यमन्त्री पिनाराई विजयनले विदेशमन्त्री जयशंकरलाई पत्र लेख्दै आफ्नो राज्यका नागरिकको विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो। मृतक आठैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्