कटुवाल कराउने गंगाको पेसा



सलिम अन्सारी, प्युठान।
जिल्लाको झिमरुक–५ का गंगा सुनार ५५ वर्ष पुग्नुभयो। उमेर घर्कदै छ। त्यसैले उहाँलाई राम्ररी हिँडडुल गर्न, देख्न र सुन्न पनि गाह्रो पर्छ तर एक गाउँको सूचना अर्कोमा पुर्याउने र डाँडामा गएर ‘हाँको’ हाल्ने कटुवाल पेसाबाट उहाँले मुक्ति पाउनुभएको छैन।सुनार बिगत २५ वर्षदेखि कटुवालको भूमिकामा हुनुहुन्छ। कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेरसमेत बुझिन्छ।

‘गाउँमा केही विशेष काम पर्यो कि सूचना पुर्याउने मै हुँ, उहाँले भन्नुभयो– ‘२५ वर्षदेखि यो काम गर्दै आएको छु।’ अन्य कार्यक्रम हुने भए पनि ठूलाबडाले भनेको कुरा पनि मान्नुपर्ने उहाँले बताउनुभयो। गाउँभेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, वनमा घाँसदाउरा फुक्दा सूचना पुर्याउने काम कटुवालको हो।

‘वर्षमा १५/२० पटक सूचना दिइने काम पर्छ, सुनारले भन्नुभयो– ‘साबिकको ओखरकोट गाविस र हालको झिमरुक–५ मा सूचना प्रवाह गर्छु।’ स्थानीय तह गठन भई जनप्रतिनिधि आएपछि उहाँलाई कामको बोझ पहिलेभन्दा झन् थपिएको उहाँ बताउनुहुन्छ।उहाँ कार्यालयका विभिन्न सूचनासमेत ‘हाँक’ हालेरै जनताका झुपडीसम्म पुर्याउनुहुन्छ। त्यसबापत उहाँले पाउँनुहुन्छ अन्न।

घरघरबाट वर्षभरिमा एक पाथी अन्न पाउनुहुन्छ। उहाँले दिनरात नभनि गाउँमा आवश्यक सूचना प्रसार गर्नुपर्छ। तर, कामअनुसारको दाम नहुँदा गुजारा कठीन बन्दै गएको उहाँ बताउँनुहुन्छ। वडामा ५ सय घरधुरी छन्। तर, आधाभन्दा धेरैले त्यहिँ पनि दिँदैनन् उहाँले गुनासो गर्नुभयो। ‘पहिलेपहिले त गाउँमा नयाँ अन्नबाली भित्र्याउँदा कटुवाललाई मानापाथी छुट्टाउँथे, हिजोआज गाउँलेले पनि वास्तै गर्न छोडेको उहाँले गुनासो छ।
काम असह्य भए पनि जनप्रतिनिधिले समेत पारिश्रमिक नदिने गरेको दुखेसो सुनारले पोख्नुभयो। यो बुढौलीमा पनि घाम, पानी, चिसो केही भन्न पाइँदैन, उहाँले भन्नुभयो– ‘जिम्मेवारी लिएपछि पूरा त गर्नैपर्यो।’घरमा नौजनाको परिवार छ। अरू कमाइ केही छैन।
गाउँमा अन्न पनि दिन छोडे। स्थानीय सरकारले समेत नहेर्दा परिवार पाल्न गाह्रो हुन थालेको उहाँले बताउनुभयो। ‘लामो स्वरले चिच्चाउँदा चिच्चाउदै घाँटी र छाती दुख्छ, यहाँले भन्नुभयो– ‘कहिले घाँटी बस्छ, बोल्न नि सकिँदैन।’
वडा अध्यक्ष टीकाबहादुर जिसी सञ्चार र प्रविधि भित्रिएपछि कुटुवालको खासै काम नभएको बताउनुहुन्छ। तर आउँदो आर्थिक वर्षदेखि कटुवाल खर्च छुट्टाउने सोचमा रहेको उहाँले बताउनुभयो। गंगा सुनारजस्तै प्युठानमा दर्जनौं कटुवाल छन् तर, उनीहरूको पीडा पनि उस्तै भएको स्थानीय बुद्धिजीवी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्