महामारी राेक्न नयाँ परियोजना सुरु



काठमाडाैं  ।

नेपालले महामारी सम्वन्धी पूर्व तयारीलाई बलियो बनाउने नयाँ परियोजना सुरु भएको जनाएको छ । द पाण्डामिक फण्डले छनौट गरेको नेपालको नयाँ परियोजना ‘स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल (एसपीइइडी)’ बुधबारबाट सुरु भएको हो ।

पाण्डमिक फण्ड सन् २०२२ को सेप्टेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी २० राष्ट्रका अर्थ मन्त्रीहरुको बैठकले न्युन तथा मध्यम आय भएका देशहरुलाई लक्षित गरी स्थापना गरेको एक आपतकालीन कोष हो ।

सो कोष स्थापना भएपछि विश्वभरका न्युन तथा मध्यम आए भएका देशहरुबाट प्रस्तावना आव्हान गरिएको थियो ।

त्यसबेला स्वास्थ्य मन्त्रालयले स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल(एसपीइइडी)प्रस्तावना हालेको थियो । नेपालको सो प्रस्तावना छनौट भएको गत साउन मै थाहा भएको थियो । यद्धपी कति रकम पर्‍यो भन्ने त्यसबेला खुलेको थिएन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाकथोकीले आज विज्ञप्ती जारी गर्दै एसपीएईडी परियोजना शुभारम्भ भएको बताएका छन् । उनले स्वास्थ्य सचिव डा। रोशन पोखरेलको अध्यक्षतामा मन्त्रालयमा आज एक समारोहका बीच कुल १ करोड ८८ लाख अमेरिकी डलर करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ को लागतको ‘स्पीड’ परियोजना सुरु भएको जानकारी दिए । यद्धपी मन्त्रालयमा यो कार्यक्रम हिजो नै भएको थियो ।

प्रवक्ता डा बुढाथोकीले यो परियोजना नेपाल सरकारको नेतत्वमा डब्लुएओ, युनिसेफ र एफएओ सहितको समन्वयमा सञ्चालन हुने बताए । उनले यो परियोजनाको अवधी तीन वर्षको रहने जानकारी दिए ।

त्यसबेला प्रस्तावना तयार गर्नेमध्येका एक नीति योजना महाशाखा प्रमुख डा। कृष्ण पौडेलले एसपीईईडी परियोजना खासगरी महामारीको निगरानी र प्रारम्भिक चेतावनी, प्रयोगशाला प्रणाली, मानव संसाधन तथा जनशक्तिको सुदृढीकरणमा केन्द्रीत हुने बताएका थिए । त्यसैले अढाई अर्ब बढीको यो परियोजनामा आएको रकम तिनै कामका लागि खर्च हुनेछ ।पाण्डामिक फण्डबाट नेपालले प्राप्त गरेको अनुदानमा आधारित यो परियोजनाका लागि विश्वका १३३ देशबाट १७९ आवेदन परेको थियो । त्यसमध्येबाट नेपालको प्रस्ताव छनौट भएको हो ।

प्रतिक्रिया दिनुहोस्