इराकका संवेदनशील स्थानबाट फर्काइँदै नेपाली

युद्धको सम्भावना बढेपछि आठ सयभन्दा बढी विदेशी नागरिक फिर्ता



दीपक रिजाल, काठमाडौं।

इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्किने भएका छन्।इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ।

यसैबीच अमेरिकाले इराकमा रहेको आफ्नो दूतावासका उच्च अधिकारीलाई स्वदेश फर्कन निर्देशन दिएको छ भने त्यहांँ कार्यरत नेतालीलाई पनि स्वदेश फिर्ता पठाएको जनाएको छ।

अमेरिकी दूतावास तथा अमेरिकी सैन्य अखडामा कार्यरत नेपालीसहित आठ सय विदेशी नागरिकलाई दूतावासले फिर्ता पठाएको अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ। स्वदेश फर्काइएका विदेशी नागरिकहरू दूतावास तथा सैन्य अखडामा सहयोगीका रूपमा कार्यरत थिए।

बग्दादस्थित अमेरिकी दूतावासले उनीहरूलाई हवाई टिकट तथा एक महिनाको थप तलबसहित फिर्ता पठाएको हो। दूतावासले इराकमा कार्यरत नेपालीलाई पाकिस्तानस्थित नेपाली दूतावाससँग समन्वय गरेर स्वदेश फिर्ता गरेको हो।

पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्सालले इराकमा रहेको अमेरिकी दूतावास तथा सैन्य अखडामा कार्यरत नेपालीहरू शुक्रबारसम्म नेपाल आइपुग्ने जानकारी दिनुभएको छ।

अमेरिकी दूतावास तथा सैन्य अखडामा झन्डै दुई सयको हाराहारीमा नेपाली कार्यरत रहेको र त्यहांँको अवस्था हेरेर बाँकीलाई पनि स्वदेश फर्काइने सम्भावना रहेको छ। इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरे पनि नेपाली नागरिक भने सुरक्षित छन्।

कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले इराकमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी सञ्चारमाध्यमलाई गराउनुभएको छ। नेपालको परराष्ट्र मन्त्रालयले पनि पर्सियन खाडी तथा मध्यपूर्वका देशमा कार्यरत नेपालीका बारेमा ध्यान दिन विभिन्न देशमा रहेका नेपाली राजदूतलाई निर्देशन दिएको छ।

पछिल्लो समय इरान र अमेरिका दुवै युद्धको तयारीमा जुटेका छन्। एकले अर्कालाई आतंककारी घोषणा गरी कारबाहीको धम्की दिइरहेका छन्। कतिखेर कहांँ युद्ध हुन्छ भन्ने त्रासले पर्सियन खाडी र मध्यपूर्वका जनता त्रसित अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्