नेपाललाई एकै दिन १५ स्वर्ण: तेक्वान्दो र कराँतेमा सात/सात, ट्रायथलनमा एक



फिरोज राजोपाध्याय, काठमाडौं

आयोजक नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत सोमबार भएका विभिन्न खेलमा १५ स्वर्ण पदक जितेको छ।|

तेक्वान्दोमा सात, कराँतेमा सात र ट्रायथलनमा एक गरी कुल १५ स्वर्ण पदक जितेको हो।

यससँगै नेपालले १३औं सागमा शानदार शुरुआत गरेको छ। यसअघि १२औं सागमा नेपालले कुल तीन स्वर्ण मात्रै जितेकामा यसपटक एकै दिन नेपाललाई स्वर्णको वर्षा भएको छ। नेपालको आजसम्मकै शानदार प्रदर्शन नेपालमै भएको आठौं साग हो, १९९९ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालले ३१ स्वर्ण जितेर इतिहास रचेको थियो। हिजोको उपलब्धिलाई आधार मान्ने हो भने नेपालले सो सागलाई पनि पछि पार्ने संकेत देखिन्छ।

नेपाललाई एकै दिन दुई स्वर्ण पदक दिलाउन सफल तेक्वान्दोकी आयशा शाक्य र कराँतेका मन्डेकाजी श्रेष्ठ ।  तस्वीर ः उजोल डंगोल

तेक्वान्दोतर्फ ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा १३ विधामा प्रतिस्पर्धा गर्दा नेपालले सात स्वर्ण हासिल गरेको हो। अन्यमा श्रीलंकाले तीन, भारतले दुई र बंगलादेशले एक स्वर्ण प्राप्त गरेका छन्। तेक्वान्दोमा नेपाललाई व्यक्तिगतरूपमा स्वर्ण दिलाउनेमा आयशा शाक्य, पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठ रहेका छन्।

आयशाले २९ वर्षमाथिको महिलातर्फ व्यक्तिगत पुम्सेमा ८.९४० अंकसहित स्वर्ण जित्न भारतकी प्रजक्ता प्रकाशलाई पराजित गरेकी हुन्। प्रकाशले ७.६४० अंक ल्याएकी थिइन्। सो विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली र निसा महरूनले कांस्य पदक जिते। आयशाको यो सागमा व्यक्तिगत दोस्रो स्वर्ण हो। उनले ११औं सागमा स्वर्ण जित्दा भारतमा भएको १२औं सागमा भने उनी रजत पदकमा खुम्चिएकी थिइन्।

यसै गरी पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा ८.२७० अंक जोड्दै श्रीलंकाकी रनपतिपुरा जयविराललाई हराएर नेपालका लागि स्वर्ण जितेकी हुन्। यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन्। सिनाले १७ देखि २३ वर्ष उमेर समूहमा ८.२५० अंकसहित स्वर्ण हासिल गरिन्। उनकी प्रतिद्वन्द्वी भारतकी रुपमा बायोरले ८.१३० अंक ल्याइन्। सो विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन्।

पुरुषतर्फ व्यक्तिगत पुम्सेमा कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याएका हुन्। भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए। उक्त विधामा श्रीलंका निसाकां जयसिंघ र बंगलादेशका मेहदी हसनले कांस्य पदक हासिल गरे।

आयशाले अर्को स्वर्ण पनि जितिन्। जोडी पुम्सेतर्फ उनले सञ्जीवकुमार ओझासँग मिलेर ८.१६ अंक जोडेर पाकिस्तानका महरून र सहबाज अहमदको जोडीलाई पछि पारेका हुन्। महिला टिम पुम्सेतर्पm १७–२९ वर्ष उमेर समूह (निसा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जित्न सफल भएका छन्।

कराँतेतर्फ पनि नेपालले सात स्वर्ण जितेको छ, जसमा मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका हुन्। उनले प्रतिद्वन्द्वी पाकिस्तानका नियामतुल्लाहलाई ०.८० अंकको अन्तरमा हराउन सफल भएका हुन्। सो विधामा मन्डेकाजीले २५.७२ अंक जोड्दा नियामतुल्लाहले २४.९२ अंक ल्याएका थिए।

यसै गरी तौलसमूहअन्तर्गत पुरुषको ५५ केजीमा लक्ष्मण तामाङले बंगलादेशका मोहम्मद मुस्तफालाई एक–शून्यले हराउँदै स्वर्ण सुरक्षित गरे। ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए। उनले फाइनलमा पाकिस्तानका मोहमद बाजलाई हराएका थिए।

महिलातर्फ ४५ केजीमुनि कुसुम खड्काले स्वर्ण जितेकी छन्। कुसुमले बंगलादेशकी माउन्जारा बोर्नालाई तीन–दुई अंकको अन्तरले हराउन सफल भइन्। ५० केजीमुनितर्फ अनु अधिकारीले नेपालका लागि थप स्वर्ण बटुलेकी हुन्। उनले फाइनलमा श्रीलंकाकी डन पाउलु बादलेगीविरुद्ध एकपक्षीय नतिजा निकालेर उत्कृष्ट प्रदर्शन गरिन्। उनले फाइनल खेल आठ–शून्य अंकले जितेकी हुन्।

करातेमै मन्डेकाजीले व्यक्तिगत दोस्रो स्वर्ण जिते। उनले पुरुष टिम कातातर्फ महसुस तामाङ र प्रवीण मानन्धरसँगै काता प्रस्तुत गरेका हुन्। उनको टोलीले २५.५४ अंक ल्याउँदा श्रीलंकाली टोलीले २५.२८ अंक जोडेको थियो। महिला टिम कातामा नेपालले पाकिस्तानलाई पछि पारेर स्वर्ण जितेको हो। नेपाली टोलीमा निर्मला तामाङ, संगीना मगर र सरु कार्कीले प्रतिस्पर्धा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्