अमेरिका, (नेस)। अमेरिका, नर्थ क्यारोलिना राज्यको विन्स्टन सेलम शहरमा भएको एनएएसईए र एएनएमको १५औं सम्मेलनको अवसरमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच नेपालबाट प्रकाशित मोहन दुवालद्वारा सम्पादित जनमत साहित्यिक मासिकको विमोचित गरिएको थियो।
जनमत मासिकको उक्त अङ्क वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवस, अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्वकेन्द्रीय अध्यक्ष पदम विश्वकर्मा तथा नर्थ क्यारोलिना साहित्य समाजका अध्यक्ष शिखर दुलालले संयुक्तरूपमा विमोचन गर्नुभएको थियो।
जनमतमा प्रकाशित नर्थ क्यारोलिना विशेष अङ्कको अतिथि सम्पादक डा. ऋषि बस्ताकोटीले विशेषांकमा नर्थ क्यारोलिना, अमेरिकामा बसोवास गरेका ४० जना विविध स्रष्टाको विविध साहित्यिक सामग्रीका साथै नर्थ क्यारोलिनामा भइरहेको नेपाली साहित्य सम्बन्धी एक खोजमूलक लेख प्रकाशित भएको जानकारी गराउनुभयो।
नर्थ क्यारोलिना साहित्य समाजका अध्यक्ष दुलालले जनमत प्रकाशनसँगको सहकार्यमा यो ऐतिहासिक कार्य गर्न पाएकोमा जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाल र जनमत परिवारप्रति हार्दिकता व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा कवि गोष्ठी हुनुका साथै स्रष्टा मनोज प्रधानलाई सम्मान पनि गरिएको थियो।











प्रतिक्रिया