कहाँ गए १३ हजार एचआईभी संक्रमित


नेपाल समाचारपत्र, काठमाडौं।ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सिंहदरबारको अधिकार गाउँमा आएको भए पनि कोही पनि चुस्तदुरुस्त नभएकाले परिवार नियोजनका क्षेत्रमा नेपाल परिवार नियोजनसँग मिलेर सहकार्य गर्न आफू तयार भएको बताउनुभयो।

उहाँले नेपाल परिवार नियोजन संघको ६१औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सो कुरा बताउनुभएको हो।उहाँले कार्यक्रममा आएर धेरै नयाँकुराको जानकारी भएको र आगामी दिनमा परिवार योजना सेवालाई आफ्नो नगरमा नमुनाकै रुपमा कार्यान्वयन गर्ने बताउनुभयो।

ललितपुर महानगरपालिकालाई अपांगमैत्री बनाउने प्रकृया शुरु गरिसकेको र भविष्यमा लिफ्टको समेत व्यवस्था गरी उहाँहरूबाट उद्घाटन गराउने सोच रहेको उहाँको भनाइ थियो। साथै ललितपुरमा कोरियाको जस्तै अपांगमैत्री ३ वटा ट्याक्सीसमेत अनुदानस्वरुप ३ महिनापछि आइपुग्ने जानकारी गराउनुभयो।

उहाँले जो कमजोर छ उसका लागि सेवा दिन परिवार नियोजन सेवाले ल्याएका कार्यक्रमलाई पनि साथसाथै लैजाने बताउनुभयो।कार्यक्रममा लामो समय नेपाल परिवार नियोजन संघमा कार्यरत कर्मचारीलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर मेयर महर्जन र संस्थाका निर्देशक केपी विष्टले सम्मान गर्नुभएको थियो।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रखुम डा. खगेश्वर गेलालले परिवार नियोजनको साधनको अभावमा अनिच्छित गर्भ बढेकै कारण सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढेको बताउनुभयो।

त्यसै गरी एवीलीस फाउन्डेसनका कट्री कोअर्डिनेटर डा. वीरेन्द्रराज पोखरेलले प्रजनन् स्वास्थ्य अपांगमैत्री नभएको र अपांगहरूलाई विवाह नै गर्नुहुन्न भन्ने घरपरिवार र समाजको दबाबमा कि त डिपोप्रोभेरा लगाइदिने कि पाठेघर नै निकाल्नेजस्ता कार्यले मानव अधिकारको हनन् भएको कुरा आंैल्याउनुभयो।

उहाँले सर्वोच्च अदालतले स्वास्थ्य सेवा अपांगमैत्री बनाउन निर्देशन दिएको भए पनि कानुनमै विभेद गरिएको आरोप लगाउनुभयो।

परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुवासचन्द्र श्रेष्ठले अपांगता भएका व्यक्तिलाई स्वास्थ्य सेवामा प्राथमिकता दिनुको सट्टा उल्टो हिंसा गरेको, अधिकार सुनिश्चितताका लागि सरकारले नीतिगत र व्यावहारिक रुपमा व्यवस्था नगरेको जस्ता विषयलाई लिएर काठमाडौं, भक्तपुरलगायतका ५ वटा जिल्लामा नयाँकार्यक्रम लिएर ५ वर्षे योजना अघि सारेको जानकारी गराउनुभयो।

सोही अवसरमा राष्ट्रिय एचआईभी महासंघका कोषाध्यक्ष खगेन्द्र खड्काले १ हजार ३ सय ८० जना बालबालिका परिवार नियोजनको अस्थायी साधनको अभावमा एचआईभी संक्रमित भएको तथ्यांक प्रस्तुत गर्दै ३० हजार २ सय २८ जनामा १६ हजार ५ सय औषधिको पहुँचमा आए पनि १३ हजार ७ सय २८ जना हराइरहेका बताउनुभयो।

सोही अवसरमा आपांगलाई पनि आमा बन्ने अधिकार छ तर अपांगता भएका महिला गर्भवती भए भने चिकित्सकले नै हेप्ने गरेको गुनासो पीडितले सुनाएका थिए।