वार्षिक करोडौं आम्दानी भएको विन्ध्यवासिनी सामाजिक सेवामा



टंकराज अधिकारी

अन्तर्राष्ट्रियरूपमा नै ख्याति कमाएको पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो ‘विन्ध्यवासिनी मन्दिर’।
पोखराको मुख्य शक्तिपीठ विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न दैनिक ७ सयदेखि १ हजार बढी भक्तजन आउने गरेको तथ्याङ्क छ।
यद्यपि साताको दुई दिन अर्थात् मंगलबार र शनिबार ४ हजारको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मुख्य पुजारी रुद्रनाथ पौडेलले जानकारी दिनुभयो।
‘बडादशैंको घटस्थापनादेखि पूर्णिमासम्म दैनिक १० हजारभन्दा बढी श्रद्धालु आउने गर्दछन्’, पुजारी पौडेलले भन्नुभयो– ‘त्यो बेला भक्तजनलाई सहज ढंगले पूजा गर्ने वातावरण मिलाउन पनि हम्मे–हम्मे हुन्छ।’

मन्दिरका पुजारी पौडेलका अनुसार बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिरमा दर्शनार्थीले दर्शन गर्ने गरेका छन्। अहिले यहाँ करिब १ करोड १५ लाखको लागतमा प्रदक्षिणा पथको निर्माण गरिएको छ।

मन्दिरको दर्शन गर्न भारतीय तीर्थालु बढी आउने गरेको तथ्याङ्क छ। यद्यपि मन्दिरका दर्शनार्थीको अभिलेख राख्ने गरिएको छैन। दर्शनार्थीको दान र भेटीबाट आ.व. २०७५–०७६ मा मात्रै झन्डै ४ करोेड ३७ लाख रुपियाँ आम्दानी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष सूर्यप्रसाद सुवेदी बताउनुहुन्छ।

विसं २०७३ सालअघि मन्दिरमा चढाइने भेटी र दानपत्र पूजारीले नै लैजान्थे। तर, भेटीघाटी व्यवस्थापन निर्देशिका–२०७३ लागू भएपछि मन्दिरको कोषमा जम्मा हुन थालेको हो।

पुजारी करारमा

मन्दिरमा चढाइने भेटी र दानपात्रमा पुजारीको रजाइँ थियो। दर्शनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको छ।
यसरी मन्दिरमा २ सय ३५ वर्षपछि करारमा पुजारी नियुक्त गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका–२०७३ लागू गरेपछि विन्ध्यवासिनी मन्दिरका पुजारीलाई करारमा पदस्थापन गरिएको हो।

निर्देशिका लागू भएपछि मन्दिरमा चढाइने सबै दक्षिणा र उपहार पुजारीले लिने गरेकोमा करारमा नियुक्ति गरेपश्चात् मन्दिरमा चढाएको भेटी र दान कोषमा आउन थालेको हो।

विन्ध्यवासिनीप्रतिको जनआस्था

विश्वका कुनै पनि हिन्दू तथा बौद्ध धर्मालम्बी नेपाल भ्रमणको क्रममा पोखरामा पाइला राख्नेवित्तिकै विन्ध्यवासिनी देवीको दर्शन गर्न पुगिहाल्छन्। यसले गर्दा विन्ध्यवासिनी देवी वास्तवमा विश्वकै हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बनेको छ।

मन्दिरका मुख्य पुजारी पौडेलका अनुसार अप्ठेरो परेको अवस्था र मनको आकांक्षा पूरा गराउने शक्तिका रूपमा विन्ध्यवासिनी देवीलाई मानिन्छ।

त्यसको प्रमाण मन्दिरमा देवीको नाउँमा अपर्ण गरिँदै आएको राँगा, कुखुरा, हाँस, बोका आदिको बली तथा देवीको नाउँमा चढाइएका घण्टाहरूलाई पनि लिन सकिने उहाँको भनाइ छ।

मन्दिरको स्थापना र नामकरण

पोखरा मोहोरियाटोलको उच्च विन्दुमा अवस्थित विन्ध्यवासिनी मन्दिरको स्थापना विसं १८४५ सालअघि नै भएको मानिन्छ। तर, यसको स्पष्ट तिथिमिति भने हालसम्म भेटिएको छैन।

विसं १८४५ सालमा राजा सिद्धिनारायण शाहबाट जारी भएको सनदमा विन्ध्यवासिनी मन्दिरको स्थापना गरी गुठीसमेत राखिएको लिखतबाट मन्दिरको स्थापना त्यसभन्दा अघि नै भएको पुष्टि हुन्छ।

सो सनदअनुसारमा मन्दिरको पहिलो पुजारी भागिरथ पाध्या पौडेल हुनुहुन्थ्यो। विसं १८४१ मा पाल्पाका चिन्तामणि बाणा मन्दिरमा पूजा गर्न आएपछि पौडेलका सन्तती महिधर पाध्या पौडेलले पुजारीमा आफूहरूको हकदाबी हुनुपर्ने मागसहित मुद्दा हालेपछि कास्कीका तत्कालीन राजाले पौडेललाई नै पूजाआजाको जिम्मा दिएको सनदमा समेत उल्लेख गरिएको छ।

पोखराको इतिहासको साक्षी जस्तै बनेको विन्ध्यवासिनी मन्दिर कसले र कहिले निर्माण गर्यो भन्ने ठोस प्रमाण केही छैन। यद्यपि कास्कीका तत्कालीन राजा सिद्धिनाराण शाहबाट जारी सनद र पूजारीको अख्तियारी दिइएको सनद तथा लालमोहरमा पनि मन्दिरको स्थापना कहिले भएको हो भन्नेबारे केही उल्लेख गरिएको पाइँदैन।

निकै ठूलो अग्लो ढिस्कामाथि निर्मित उक्त मन्दिर सामान्य गुम्बज शैलीमा बनाइएको छ। मन्दिरभित्र विन्ध्यवासिनी देवीको मूर्तिसहित अन्य देवदेवीका मन्दिर मूर्तिसमेत स्थापना गरिएको छ।

मन्दिरको स्थापनाका सम्बन्धमा अनेक किंवदन्ती र लोकोक्तिहरू पाइन्छन्। बह्मचारी निःशेषानन्दको ‘श्री विन्ध्यवासिनीको ऐतिहासिक परिचयसहित नेपाली स्तोत्र’ नामक पुस्तकका अनुसार– कास्कीका राजा सिद्धिनारायण शाह चारधाम घुम्न भारत गएका रहेछन्।

चारैधाम घुमफिर गरी अन्त्यमा काशीको विश्वनाथ मन्दिरसँगै जोडिएको अन्नपूर्णको मन्दिरमा पुगेछन्। त्यस बेला दशैंको नौरथा रहेछ र मन्दिरमा देवी भागवत् कथा वाचन र श्रवण भइरहेको रहेछ।

सिद्धिनारायणले कथा सुनेपछि विन्ध्यवासिनीको दर्शन गर्न विन्ध्याचल जाने निधो गरेछन्। उनी विन्ध्याचल गई देवीको आराधना गरी बसेछन्।

विन्ध्यवासिनीले त्यहाँका राजालाई सपनामा सिद्धिनारायणलाई उनको एउटा मूर्ति दिएर पठाउन अनुरोध गरिछन्। त्यसपछि तिनले त्यही मूर्ति ल्याएर पोखरामा स्थापना गराएका हुन्।

अर्को किंवदन्तीअनुसार– परापूर्व कालमा पोखरा जलमग्न हुँदा पानीको बीचमा एउटा ढिस्को रहेछ। विन्दुका रूपमा रहेको ढिस्कामाथि यी देवीको मन्दिर रहेकाले यिनलाई विन्ध्यवासिनी भनिएको हो।

विन्ध्याञ्चलबाट यहाँ ल्याइएको मान्यतामा यिनलाई विन्ध्यवासिनी भनिएको हो। विन्दुमा रहेकी देवी मान्दै यिनलाई यस्तो नाम दिइएको जनश्रुति पनि छ।

वास्तवमा पोखराबासीले विन्ध्यवासिनीलाई आफ्नी परमप्रीय देवी मान्दछन्। दशैंको समयमा मन्दिर क्षेत्रमा श्रद्धालुको ठूलो जमघट हुने गर्दछ।

अन्य अवसरमा पनि यहाँ धेरै भक्तजन पुग्ने गर्दछन्। यिनलाई चाहेको कुरा पुर्याइदिने र आफ्ना भक्तप्रति कृपादृष्टि राख्ने देवी मानिन्छ।

मन्दिरका देवालय

विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकारमा रहेको छ। तामाबाट बनाइएको गजुरमा सुनको जलप लगाएको छ। गजुरबाट तामाको श्रीवन्दी लतारिएको छ।

मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न मितिमा राखिएका घण्टा छन्। पित्तलको द्वारअघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ।

मन्दिर परिसरमा गणेश मन्दिर, हनुमान मन्दिर, सरस्वती मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, नवग्रह तथा अष्टचिरञ्जीवी मन्दिर पनि छन्।

मन्दिर परिसरमै विद्यापीठ

विन्ध्यवासिनी मन्दिर परिसरमा २०५१ सालदेखि विन्ध्यवासिनी वैदिक विद्याश्रम सञ्चालन गरिएको छ। वैदिक संस्कृतिको प्रचार–प्रसार एवं सनातन धर्ममा आस्था राख्ने मानिसलाई समस्त कर्मकाण्डसम्बन्धी ज्ञान गराई उनीहरूलाई कथा प्रवचनद्वारा संस्कृति, संस्कार र संस्कृतको जानकारी गराउन विद्यापीठ सञ्चालन गरिएको हो।

विद्यापीठमा हाल ३० जना बटुकले अध्ययन गरिरहेको व्यवस्थापन समितिले बताएको छ।मन्दिर परिसरमा सञ्चालित विन्ध्यवासिनी गुरुकूल विद्याश्रमको स्थायी भवनको निर्माण कार्य शुरू गरिएको छ।

पोखरा–१८ अँधेरीकुनामा रहेको २५ रोपनी जग्गामा भवन निर्माण हुँदै छ। हाल ६ देखि ९ सम्म सञ्चालमा आएको विद्याश्रमलाई केही वर्षभित्र १२ कक्षासम्म सञ्चालन गर्ने गरी तयारी गरिएको विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो।

धार्मिक महोत्सव

विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले विभिन्न पर्व विशेषमा धार्मिक महोत्सव गर्ने थालनी गरेको छ। विशेष गरी बडादशैंको अवसरमा विसं २०६५ सालदेखि निरन्तररूपमा नवदुर्गा महोत्सव गरिँदै आएको छ। बडादशैंमा मात्र होइन, वैदिक सनातन धर्मअन्तर्गत पर्ने समस्त चाड–पर्वमा पनि विशेष पूजा–अर्चना गरिन्छ।

पुजारी पौडलेका अनुसार श्रावण महिनाभर शिव पूजनोत्सव, कृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मोत्सव, गणेश चतुर्थीमा गणेश पूजनोत्सव र श्रीस्वस्थानी परमेश्वरी पूजनोत्सव, महाशिवरात्रीमा शिवजीको, चैत्र राम नवमीमा श्रीरामको पूजन आदि गरी पर्वहरूलाई विशेषरूपमा मनाउने गरिएको छ।

प्राकृतिक चिकित्सालयको तयारी

पोखरा–१ स्थित गुठीबारी (गण्डकी प्रदेशसभा भवनसँगै) मा रहेको करिब २० रोपनी क्षेत्रफलको जग्गामा प्राकृतिक चिकित्सालय निर्माणको तयारी गरिएको छ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको पहलमा गण्डकी प्रदेश सरकारले सो चिकित्सालय निर्माणार्थ ५० लाख रुपियाँँ बजेट विनियोजन गरेको छ। करिब ५० शैøयाबाट शुरू गरी २ सय शैøयासम्म पुर्याउने लक्ष्य लिइएको छ।

समितिको पहलमा विन्ध्यवासिनी एम्बुलेन्स सेवा सञ्चालनमा आइरहेको छ भने यहाँ आउने विशिष्ट सन्त महन्तका लागि सन्त निवास तथा अतिथि गृह निर्माण गरिएको छ।

त्यस्तै वृद्धवृद्धाका लागि छुट्टै डे केयर सेन्टरसमेत स्थापना गरिएको छ। करिब ६० जना वृद्धवृद्धाले सो सेवा उपभोग गरेको समितिले जानकारी दिएको छ।

उनीहरूका लागि भजनकीर्तन, चियापान, खाजा, स्वास्थ्य उपचार, मसाज मेसिन, जन्मोत्सवका साथै प्रत्येक महिना जिल्लाभित्र रहेका धार्मिकस्थलको भ्रमण गराइरहेको समितिका सदस्य रामजीप्रसाद कोइरालाले बताउनुभयो।

मन्दिरले चर्चेको जमिन र सामाजिक योगदान

कास्की जिल्लाको मध्यभागमा अवस्थित मन्दिरले चर्चेको जग्गाबाहेक २७ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिरवरपरको समथर भू–भागबाट केही उच्च थुम्कोमा अवस्थित छ।

थुम्कोमा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनुपर्ने भएकाले हिँड्न नसक्ने दर्शनार्थीलाई परिवारजनले बोकेर पुर्याउने गरेका छन्।

अपांगलाई दर्शनका लागि मन्दिरसम्म पुर्याउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको पहलमा लक्ष्मी हाउस पोखराले लिफ्ट निर्माण गरेको छ।

समितिका सचिव तीर्थ श्रेष्ठले भन्नुभयो– ‘अपांगता भएका कारण हिँडेर पुग्न नसक्ने दर्शनार्थीलाई लक्षित गरी लक्ष्मी हाउसबाट प्राप्त ८० लाख सहयोगबाट लिफ्ट निर्माण गरिएको हो।’ यहाँबाट प्रकृतिलाई नियाल्न भ्यु टावर पनि सँगसँगै निर्माण गरिएको छ।

समितिका सचिव श्रेष्ठका अनुसार दर्शनार्थी, अशक्त, अपांगता भएका मानिस तथा जेष्ठ नागरिकका लागि लिफ्ट निःशुल्क गरिएकोे र अन्यको हकमा नेपालीको लागि ५० र विदेशीका लागि १ सय लिने गरिएको छ।

विन्ध्यवासिनी मन्दिर भ्यु टावरबाट विभिन्न ११ वटा हिमशिखर देख्न सकिन्छ। अन्नपूर्ण प्रथम, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, खाङसारकाङ, अन्नपूर्ण दक्षिण, माछापुच्छ«े, लमजुङ, घान्द्रुक हिउँचुली र मर्दी हिमाल यहाँबाट नांगो आँखाले देख्न सकिन्छ।

मन्दिर परिसरमा वाटिकाहरू निर्माण गरिएको छ। ‘मन्दिरलाई अझ व्यवस्थित बनाउने समितिको सोच छ’, सचिव श्रेष्ठले भन्नुभयो– ‘मन्दिरप्रतिको आस्था तथा यसको बढ्दो आकर्षणलाई दृष्टिगत गरी यसलाई सुविधासम्पन्न बनाउनुका साथै रात्रिकालीन समयमा पनि दर्शन एवं् घुमफिर गर्न सक्ने स्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएका छौं।’

समितिको पहल एवं समाजसेवी सुशीलकुमार गोसेलीको सहयोगमा मन्दिर परिसरमा ४६ लाखको लागतमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिंग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैंंचालगायतका संरचनाको निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्