परम्परागत मानसिकतामा परिवर्तन आउँदै छ



रेम विश्वकर्मा
अध्यक्ष
जागरण मिडिया सेन्टर

 

रेम विश्वकर्मा दलित मुक्ति आन्दोलनमा लामो समयदेखि सक्रियरूपमा लागिरहनुभएको छ। सामाजिक कुप्रथाका रूपमा रहेको छुवाछुतलाई जरैदेखि उखेलेर नफालेसम्म समाजमा रहेको विभेद अन्त्य नहुने उहाँको निष्कर्ष रहेको छ। नेपाल पत्रकार महासंघको सचिवसमेत रहनुभएका विश्वकर्मासँग नेपाल समाचारपत्रले गरेको कुराकानीको सारसंक्षेप ः

 

रेम विश्वकर्मा जी, यो रेमको कुनै अर्थ छ कि ?

मेरो नामको अर्थ के हो खै मलाई त थाहा छैन। तर, जस्तै परिस्थितिमा पनि हिँडिरहनु नै रेमको विशेषता हो।

तपाईं पाल्पाको मान्छे, अहिले काठमाडौंमा स्थापित हुनुभएको छ। आफ्नो प्रगतिलाई कसरी लिनुहुन्छ ?

प्रगति र सफलता प्राप्त गर्न सजिलो छैन। त्यसमा पनि दलित र गाउँमा जन्मे–हुर्केको मान्छेलाई। २५ वर्ष भएछ गाउँ छोडेको पनि। घेरै उताव–चढाव, दुःख–कष्ट र संर्घष गरेको छु। प्रगति र सफता प्राप्त गर्न धेरै समय लगानी धैर्यता लगनशीलता, मेहनत त चाहिन्छ। सजिलै कसैले दिएर वा जादुको शैलीमा पाइँदैन।

म आफैंले ठूलो संर्घष गरेको छु। थाकेको छैन। जसले गर्दा म यहाँसम्म आएको हुँ वा रेम हुन पुगेको हुँ। मेरा लागि सजिलो थिएन र छैन पनि। मैले सानैदेखि संघर्ष गरेर आएँ। म कुनै बनिबनाउ परिवार वा अन्य संरचनाबाट आएको पनि होइन। त्यसैले पनि म आफ्नो विगत र वर्तमानको तुलानामा जसरी आएँ, जस्तो बाटोमा छु, सामान्यतया यसलाई प्रगति मान्नुपर्दछ। अहिले विभिन्न ठाउँमा भिन्न जिम्मेवारीका साथ काम गरेको छु।

जागरण मिडिया सेन्टरको अध्यक्ष, नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव, नेपाल सरकारले बनाएको आम सञ्चार नीति र समावेशी आयोगमा बसेर काम गरें। साथै त्यस्तै राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संघ–संस्थामा बसेर काम गरेको छु।

 

म परिवर्तनकारी हो भन्ने देखाउने तर आधा परम्परावादी भएका कारणले पूजाकोठामा पुर्याउँदैन। खास–खास अवस्थामा दलितलाई जति मिल्ने भए पनि बोलाइँदैन। त्यसैले पनि यो कक्टेल पुस्ताले गर्ने भनेकै यस्तै हो। किनकि पूरै अझै स्वीकार नगरिएका कारण यस्तो भएको हो।

 

दलितमाथिको विभेद निकै घट्यो होइन, कसरी विश्लेषण गर्नुहुन्छ ?

 

हो नेपाली समाजमा दलितमाथि परम्परादेखि वर्तमान आधुनिक समाजसम्म आउँदा पनि विभेदको अवस्था समान छ। दलितलाई बुझ्ने, हेर्ने र गर्ने व्यवहार एउटै छ। दलितले अहिले पनि छुवाछुत भोग्नुपरेको छ।

जसका कारण कुटपिट र हत्यासम्म भएका प्रशस्त घटना छन्। सम्मानजनक विभेद, बौद्धिक विभेद गरिन्छ। यसो हेर्दा सँगै खाने, हिँड्ने र सुत्ने गरेका पनि छन् तर त्यो नै परिवर्तनको मापदण्ड होइन। एक जना वा दुई जनालाई त होला त्यस्तो व्यवहार तर समग्र दलितलाई गरिने व्यवहार त परम्परागत नै छ।


गैरदलितले बैठकमा लान थाले, तर पूजाकोठामा अझै लाँदैनन् भनेर टिप्पणी गर्ने दलित साथीहरूलाई के भन्नुहुन्छ ?

 

हो, गैरदलित साथीहरूले कोठासम्म लाने र समान भयो भन्ने पार्न खोजेको देखिन्छ। राजनीतिक दलका नेता, गैरसरकारी संस्थामा काम गर्ने, सार्वजनिक क्षेत्रमा काम गर्नेहरूले यस्तो गर्दछन्।

तर, पूजाकोठासम्म पुर्याउँदैनन्। त्यो भनेको कक्टेल मानकिता हो, आधा आधुनिक आधा परम्परावादी। आधा आधुनिकताले कोठासम्म पुर्यायो, सँगै हिँड्ने र खाने बनायो। र, म परिवर्तनकारी हो भन्ने देखाउने तर आधा परम्परावादी भएका कारणले पूजाकोठामा पुर्याउँदैन।

खास–खास अवस्थामा दलितलाई जति मिल्ने भए पनि बोलाइँदैन। त्यसैले पनि यो कक्टेल पुस्ताले गर्ने भनेकै यस्तै हो। किनकि पूरै अझै स्वीकार नगरिएका कारण यस्तो भएको हो।

 

दलिन समुदाय अन्य आयोगमा जान पनि अयोग्य हुने र दलित समुदायका लागि स्थापना गरिएको आयोगमा बजेट, कार्यक्रम र योजना पर्याप्त नहुनु र आयोग पदाधिकारीविहीन हुनुले दलित समुदायलाई अपमान गरिएको महुस मैले गरेको छु।

 

दलितसँग गैरदलितले विवाहबारी गरून् भनेर सरकारले ल्याएको प्रोत्साहन प्याकेजलाई कसरी लिनुभएको छ ?

अहिलेको अवस्थामा पनि दलित र गैरदलितबीच विवाह हुन सकेको छैन। अन्तरजातीय विवाह भयो भने पनि गाउँनिकालादेखि हत्यासम्म भएका छन्। उनीहरूको सुरक्षा र प्रोत्साहन गर्नका लागि ल्याइएको हो। तर, त्यो नै समाधान वा साध्य होइन।

सामाजिकरूपमा, मानसिकरूपमा, मानविीयरूपमा समान नहुँदा वा समान स्वीकार्य भएपछि मात्र यसको महŒव हुन्छ। यो नै समाधानको बाटो होइन राज्यको, राज्य अभिभावक हो। त्यहीअनुसारको संरक्षण गर्नुपर्छ। केही पैसा दिएर मात्र संरक्षण र प्रोत्साहन हँुदैन। सामाजिकरूपमा नै स्वीकार्य हुनुपर्दछ।

 

तपाईं पत्रकार महासंघमा सचिव हुनुहुन्छ, यता जागरण मिडिया सेन्टरको अध्यक्ष पनि हुनुहुन्छ काम गर्न कुनै असहजता त आएको छैन नि ?

हो, मैले नेतृत्व लिएको छु। यो समयसम्म धेरै संस्थामा नेतृत्व गरें। त्यो व्यवस्था पनि गर्दै आफ्नो लक्ष्यमा पुग्ने हो। त्यसैले त्यस्तो गाह्रो हँुदैन। अनुभव पनि धेरै भयो।

 

दलित आयोग माग त गरियो, तर पदाधिकारीविहीन भए पनि चल्दोरहेछ, काम नगरे पनि हुँदोरहेछ हैन त ?

राज्यले समाजमा दलित समुदायले भोगेको छुवाछुत, गरिबी र अन्याय अत्याचारलाई महसुुस गर्न सकेको छैन। किन दलित समुदायले दलित आयोगको माग गरे, यसको आवश्यकता र सञ्चालनबारे स्पस्ट सोच भएन।

दलित समुदायको मानवीयतामाथि अवमूल्यन गरिएको छ। दलिन समुदाय अन्य आयोगमा जान पनि अयोग्य हुने र दलित समुदायका लागि स्थापना गरिएको आयोगमा बजेट, कार्यक्रम र योजना पर्याप्त नहुनु र आयोग पदाधिकारीविहीन हुनुले दलित समुदायलाई अपमान गरिएको महुस मैले गरेको छु।

 

दलित मुक्ति आन्दोलनमा भोलिका चुनौती के हुन् ?

 

दलित समुदायको भोलिको चुनौती भनेको जातीय छुवाछुतसँगको संघर्ष, गरिबी, असमानता, बहिष्करण जस्ता समस्या वा चुनौती हुनेछन्। परम्परादेखि नै यो समस्या र चुनौती हो। अहिले झन् सिस्टमेटिकरूपमा गरिँदै छ। झन् जातजाति, वर्ग र असमानता बीचको खाडल बढेको छ र झन् बढ्ने देखिन्छ।

यी खाडल हटाउन राज्य र समाजको राम्रो भूमिका भएको पाइएको छैन। अन्य विकसित र आधुनिक देशमा पनि यस्ता समस्या जस्ताकोतस्तै छ। त्यहाँ पनि समाधान हुन सकेको छैन। भने हाम्रो जस्तो परम्परावादी, मानसिक गरिबी र विभेदकारी संरचनामा यो झनै चुनौतीको विषय हो।

दातृ निकाय त दलित संस्थालाई सकारात्मक विभेदकै स्तरमा पुगेर माया गर्छन् भनिन्छ, हो ?

 

त्यो भ्रम हो। त्यो यदि कसैलाई लागेको छ भने पनि अर्काे विभेदकारी सोचको उपज नै हो। किनकि त्यो व्यवहारमा, सहभागितामा, नीति, कार्यक्रम, बजेट र काममा कुनै पनि पक्षबाट त्यस्तो दलित समुदायलाई गरेको पाइँदैन। आफ्नो व्यवसाय वा काम हुँदासम्म दयाँ र सहानुभूतिका रूपमा दलितलाई माया गरेजस्तो देखिन्छ। मानवीयभन्दा पनि व्यवसाय वा परियोजनाका रूपमा सम्बन्ध र माया गरिन्छ।

 

सामाजिक रोगले दलित होइन देश नै बर्बाद हुन्छ। यो देश सबैको हो र सबै मानिस समान छन् भन्ने कुराको सबैमा अनुभूति हुन जरुरी छ। आजैबाट छुवाछुत र जातपात मान्दिनँ भन्ने कुराको सबैले उद्घोष गरौं।

 

तपाईंको संस्थाले समाजमा ल्याएको परिवर्तनको कुनै उदाहरण छ कि ?

 

हामीले खास गरी समाजमा रहेका दलित समुदायलाई सञ्चारमाध्यमबाट ज्ञान, सूचना र जानकारी दिने र बलियो बनाउने हो। हामीले समाज रूपान्तरणका लागि सञ्चारका विभिन्न माध्यमबाट दलित विषयमा वकालत र पैरवी गर्दै आएका छौं।

निरन्तर लामो समयदेखि दलित र गैरदलितका बीचमा काम गर्र्दै आएका छौं। देशैभरि विभिन्न तरिकाले पुगेका छौं। राज्य र समाजका सबै तहसँग हामीले काम गरेका छौं। हाम्रो कामले नीति, नियम र परम्परागत मानसिकतामा परिवर्तन ल्याउनमा सहयोग पुुगेको छ।

 

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?

 

समय बदलिएको छ। व्यवस्था बदलिएको छ। त्यहीअनुरूप नेपाली समाज र मानसिकता बदलिनुपर्यो। जाति विभेद र अन्याय अत्याचारले समाजमा समानता ल्याउँदैन। राज्य र समाज विकासमा समस्या निर्माण हुन्छ। दलित समस्या राज्य र समाजको हो दलितको मात्र होइन।

जाति भेद अन्त्यका लागि सबैले मनैदेखि व्यवहारमा काम गरौं। हामी साँच्चै नै लोकतान्त्रिक, मानवतावादी र आधुनिक हांै भन्ने कुराको व्यवहारबाट प्रमाणित गरौं। यस्ता सामाजिक रोगले दलित होइन देश नै बर्बाद हुन्छ। यो देश सबैको हो र सबै मानिस समान छन् भन्ने कुराको सबैमा अनुभूति हुन जरुरी छ। आजैबाट छुवाछुत र जातपात मान्दिनँ भन्ने कुराको सबैले उद्घोष गरौं।

 

प्रतिक्रिया दिनुहोस्