नेकपा प्रमुख सचेतक ढकालको गाडी र घरमा बम,त्रास फैलियो



यमलाल भुसाल, बुटवल ।

प्रदेशसभा पाँच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा शुक्रवार विहान पेट्रोल बम प्रहार गरिएको छ ।

रुपन्देही जिल्लाको सैनामैनानगरपालिका ७ मा रहेको ढकालको घरमा शुक्रवार विहान २ वजे ३ वटा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

ढकाल सुुत्ने कोठा, उहांँका आमाबुवा सुुत्ने कोठा र ढकालले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरको सरकारी गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ ।

सचेतक ढकाल भने विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा विरामी भएर उपचाररत हुनुहुन्छ । बम कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।

प्रहरीका अनुसार प्रहार भएका ३ वटा पेट्रोल बममध्ये गाडीमा लक्षित बम मात्र विस्फोट भएको छ । एउटा बममात्र बिस्फोट भएकाले धेरै धनजनको क्षति हुुन नपाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

गाडीमा लागेको आगो छिमेकीहरु जुटेर निभाएका थिए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापासहितको प्रहरी टोली राति नै घटनास्थल पुगेर घटनास्थलको निरिक्षण गरेको थियो । त्यसक्रममा पेट्रोल र मट्टीतेल भरिएका बम फेला परेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक रवि मैनालीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको बताउनु भयोे ।

प्रतिक्रिया दिनुहोस्