शान्तिका लागि बोलबम यात्रा



अमृत अर्याल, स्याङ्जा ।
धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्येश्यका साथ एक दशक भन्दा अगाडी देखि वालिङ बोलबम समितिले शान्तिका लागि बोलबम यात्रा शुभारम्भ गरेको थियो । हरेक श्रावण महिनामा नेपालका विभिन्न धार्मिक स्थलमा पुगेर कालीगण्डकीको जल चढाउदै आएको बोलबम समितिले यो पटक भने धार्मिक प्रवर्धनका लागि मनाङ्को तिलिचो ताल पुग्ने भएका छन् ।

सरकारले बर्ष २०२० लाई पर्यटन बर्ष घोषणा गरे सगै वालिङ बोलबम समितिले यो पटक धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले धार्मिक यात्रा तय गरेको बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिनुभयो । श्रावण १९ गते देखि शुरु हुने यात्रा नेपालकै अग्लो ताल तिलिचो पुग्नेछ । तिवारीका अनुसार तनहुँको इसानेश्वर महादेव मन्दिरमा कालीगण्डकीको जल चढाएर पर्यटन प्रवर्धन गर्ने उदेश्यले तिलीचो ताल हेरेर समिति फर्कने बताउनुभयो । हरेक बर्ष शान्तिका लागि बोलबम भन्ने नारा तय गरेर धार्मिक क्षेत्रको दर्शन गर्ने गरेका थियौ समितिका अध्यक्ष तिवारीले भन्नुभयो,“ यो पटकको हाम्रो यात्रामा शान्ति सगै पर्यटन प्रवर्धनलाई जोड दिएका छौं ।”सरकारले २०२० लाई पर्यटनबर्ष घोषणा गरेसँगै यो धार्मिक यात्राले पनि सघाउ पुग्ने विश्वास लिएको तिवारीले बताउनुभयो ।

यो यात्राले जिल्लाको चिनारीलाई समेत सघाउने समितीका यात्रा संयोजक युवराज गौतमले बताउनुभयो । समितिले यात्राको समय तालिका समेत सार्वजनिक गरेको छ । १९ गते देखि यात्रा शुरु गरेर २० गते तनहुँको इसानेश्वर महादेव मन्दिरको दर्शन बेसीशहरमा बास बस्ने, बेसी शहरबाट मनाङ्को खाङ्सारमा बास बस्ने र २२ गते बेस क्याम्पमा पुगेर बास बस्ने गरी २३ गते तिलिचो ताल पुग्ने समय तालिका सार्वजनिक गरेको यात्रा संयोजक गौतमले जानकारी दिनुभयो । यात्रामा कुनै कठिनाई र समस्या नआउने गरी सबै व्यवस्थापन मिलाएको गौतमले जानकारी दिनुभयो ।

स्याङ्जाका धार्मिक स्थलहरुको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वासका साथ वालिङ बोलबम समितिले आयोजना गरेको बोलबम यात्रालाई छुट्टै तवरले हेरिएको छ । एउटै पोषाकमा करिव ८० जना बोलबम युवाहरुको सहभागिता हुने समितिका सचिव अशोक तिवारीले जानकारी दिनुभयो । २०६१ सालबाट बोलबम समिति हरेक श्रावण महिनामा मुलुकका विभिन्न धार्मिक स्थल पुग्दै आएका छन् । पहिलो यात्रा मुक्तिनाथ बाट शुरु गरेको समितिको यो १४ औं संस्करणको यात्रा हो ।

प्रतिक्रिया दिनुहोस्