राप्रपा महाधिवेशन जेठमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन निर्माण बर्ष २०७६ को कार्ययोजना पारित गरेको छ । यो वर्षलाई संगठन निर्माण वर्षको रुपमा अघि बढाएको राप्रपाले आउदो मंसिर देखि गाउँ फर्क अभियान संचालन गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले गांउफर्क अभियानमा पार्टी र संयोजित संगठनका केन्द्रीय एवं प्रदेश कार्यसमितिका सदस्यहरुले कम्तिमा ३ हप्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा अनिवार्य रुपमा संगठन निर्माण र जनसम्पर्कको कार्यमा बिताउनु पर्ने निर्णय गरेको छ ।

राप्रपा कार्यसम्पादन समिति बैठकले यही साउन २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र भदौ महिनाभित्र सम्पूर्ण जिल्लाहरुमा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

२०७७ साल जेठमा केन्द्रीय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको राप्रपाले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने बताएको छ ।

सोमबारको बैठकले २०७७ असोज महिनाभित्र सम्पूर्ण गाउपालिका र नगरपालिकाहरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।