ललिता निवास किनबेच प्रकरणका अभियक्तद्वारा आत्महत्या


काठमाडौ (नेस) । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

पूर्व नायव सुब्बा समेत रहेका श्रेष्ठ केही समयदेखि तनावमा रहेको बुझिएको छ । सपिङ गर्ने बाहानामा त्यहां पुगेका श्रेष्ठ ८ औ तलाको रेलिङबाट हामफालेका थिए । घाइते अवस्थामा प्रहरीले पिपुल्स अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ललिता निवास घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले श्रेष्ठलाई समेत पत्र काटेर बयानका लागि बोलाएपछि श्रेष्ठ केही समयदेखि तनावमा थिए ।

उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । श्रेष्ठको शवको पोष्टमार्टम बुधवार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

डिल्लीबजार मालपोत कार्यालयमा श्रेष्ठ कार्यरत रहेकै बेला बालुवाटारको १ सय २४ रोपनी सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी गरिएको थियो ।
पहिला नै सरकारले मुआब्जा दिएर अधिकरण गरिएको सरकारी जग्गा श्रेष्ठसहितको टोलीले नक्कली फाइल खडा गरेर उक्त जग्गा व्यक्तिको नाममा गरिएको थियो ।

२०५८ सालबाट सेवा निबृत्त भएका श्रेष्ठ कांग्रेसमा प्रवेश गरी त्यहाँबाट राजनीतिक करिअर सुरु गरेका थिए । श्रेष्ठले तत्कालिन मालपोत अधिकृत कलाधार देउजाको आदेशमा आफूले नक्कली फाइल खडा गरी काम गरेको बयान आयोगमा दिएका थिए ।